सर्लाही, ३१ चैत । अखिल (क्रान्तिकारी) सर्लाहीका उपाध्यक्ष तथा निवर्तमान केन्द्रीय सदस्य प्रकाश पासवानले पदबाट राजीनामा दिएका छन् ।
विद्यार्थी राजनीति हुँदै संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका पासवान उच्च शिक्षा अध्ययनका लागि जापानको Tokyo International University df Business Economics विषयमा अध्ययन गर्न प्रस्थान गर्न लाग्दा उनले आफना पदबाट राजीनामा दिएका हुन् ।
विज्ञप्ति मार्फत राजीनामा दिएको सार्वजनिक गर्दै पासवानले पारिवारिक अवस्था र बैदेशिक अध्ययनका कारण २०८२ साल वैशाख २ गते जापान जान लागेको जानकारी गराए । उनले लेखेका छन्, “घरको कमजोर परिस्थिति र दलित वर्गबाट अत्यन्त न्यून संख्यामा विदेश अध्ययनका लागि जाने भएकोमा पनि यो यात्रा रोजेको हुँ ।”
राजनीतिक पृष्ठभूमिमा हुर्किएका पासवानले बाल्यकाल देखि नै आन्दोलन र संगठनसँग नजिकको सम्बन्ध रहेको उल्लेख गरे । उनका पिता शम्भु पासवान जनयुद्ध पूर्वदेखि नै राजनीतिक रूपमा सक्रिय रहँदै दोस्रो संविधानसभा सदस्य समेत भइसकेका छन् ।
शैक्षिक यात्राको क्रममा उनले कक्षा ६ देखि १० सम्म नवजीवन मावि, जुटपानी सर्लाहीबाट अध्ययन गरेका थिए भने कक्षा ११ र १२ सर्लाही क्याम्पसबाट सम्पन्न गरेका थिए । त्यहीबाट उनले विद्यार्थी राजनीतिमा औपचारिक रूपमा पाइला चालेका थिए ।
२०७८ सालमा अखिल (क्रान्तिकारी) सर्लाही क्याम्पस इकाइ कमिटीको सचिव हुँदै २०८१ मा केन्द्रीय सदस्य र सोही वर्ष जिल्ला उपाध्यक्षको जिम्मेवारी समेत सम्हालेका पासवानले संगठनभित्र विभिन्न अवसर, चुनौती र अनुभवहरू प्राप्त गरेको बताएका छन् ।
“ईकाइदेखि केन्द्रसम्मको विद्यार्थी राजनीतिक यात्रा अत्यन्तै महत्वपूर्ण रहयो,” पासवानले भनेका छन्, “म प्रति प्रत्यक्ष र अप्रत्यक्ष रूपमा देखाउनु भएको साथ, सहयोग र सद्भावका लागि सम्पूर्ण जनवर्गीय नेताहरू प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।”
उनले राजीनामा पत्रमा दुःखको समयमा पार्टीका केही तहका नेताबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्दै पनि संगठन र पार्टीप्रति प्रतिबद्धता दोहोर्याएका छन् । “हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी), हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र समाज परिवर्तनको निम्ति जुनसुकै कालखण्डमा सदैव अगाडि रहने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले लेखेका छन् ।