काठमाडौं, ३ वैंशाख । राष्ट्रिय एकता अभियान, नेपालले वीरगंजको छपकैया घटनालाई लिएर गहिरो दुख व्यक्त गर्दै शान्तिपूर्ण प्रतिरोधमा उत्रिएका हिन्दु युवाहरु सहित सर्वसाधारण नागरिकको भईरहेको गिरफतारी कार्य प्रति आपत्ती जनाएका छन् ।
अभियानद्वारा जारी गरिएका प्रेस वत्तव्यमा पर्सा जिल्लाको सदरमुकाम वीरगंज महानगरपालिका वडा नम्वर २ छपकैया क्षेत्रमा गत चैत ३० गते हनुमान जन्मोत्सवको अवसरमा आयोजना गरिएको शोभा यात्रामाथि योजनाबद्ध रूपमा आक्रमण भएको भन्दै अभियानले त्यस कार्यलाई “बहुल सांस्कृतिक, सहिष्णु र लोकतान्त्रिक समाज माथिको संगठित आक्रमण” को रूपमा व्याख्या गर्दै हिन्दु युवाहरुको भईरहेको गिरफतारी प्रति गम्भीर आपत्ती जनाएका हुन् ।
अभियानका अनुसार, घटनामा संलग्न वास्तविक दोषीहरूलाई कारबाही नगरेको राज्य संयन्त्रले उल्टै त्यसविरुद्ध आवाज उठाएका हिन्दु युवाहरूलाई हिजो २ गते गिरफतार गरेको र उक्त गिरफतारीप्रति अभियान गम्भीर आपत्तिमा रहेको जनाएको छ ।
दुर्भाग्यपूर्ण पक्ष भनेको ती युवाहरूको रिहाइको माग गर्दै शान्तिपूर्ण रूपमा जिल्ला प्रहरी कार्यालयमा उपस्थिति जनाएका सर्वसाधारण नागरिकहरू माथि समेत प्रहरीले बल प्रयोग गरी लाठीचार्ज गरेको भन्दै अभियानले त्यसलाई संविधानको उल्लङ्घन गरेर जनतालाई राज्यद्वारा त्रसित बनाउने कार्यको रुपमा लिएको छ ।
अभियानले नेपाल सरकारसमक्ष पाँच बुँदे मागसमेत अघि सारेको छः
१. गिरफ्तार गरिएका सम्पूर्ण हिन्दू युवाहरूको अविलम्ब र बिना सर्त रिहाइ ।
२. शोभा यात्रा माथि आक्रमण गर्नेहरूलाई राष्ट्रविरोधी गतिविधि, धार्मिक घृणा र सामाजिक सद्भाव खल्बल्याउने अभियोगमा कडा कारबाही ।
३. प्रदर्शनकारीहरू माथि बल प्रयोग गर्ने प्रहरी अधिकृतहरू विरुद्ध निष्पक्ष छानबिन र कानुनी कारवाही ।
४. धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन रणनीति निर्माण गर ।
५. धार्मिक सहिष्णुताको संरक्षण र अतिवाद तथा घृणा प्रेरित विचार धारा विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर ।
अभियानका अध्यक्ष विनय यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “धार्मिक स्वतन्त्रता, सामाजिक समावेशिता र राज्य संयन्त्रको निष्पक्षता सुनिश्चित गर्न यस्ता घटनाहरूको समयमै सम्बोधन गर्न राज्यबाट अनिवार्य रुपमा पहलकदमी हुनुपर्ने तर अहिले सम्म भएन । यदि नागरिकहरूको प्रतिरोधलाई दमन गरिँदै जाने हो भने राष्ट्रिय एकता र लोकतान्त्रिक अभ्यासमा गम्भीर संकट उत्पन्न हुनेछ ।”
अभियानले नागरिकहरूको विश्वास कायम राख्न उपर्युक्त मागहरूको शीघ्र सम्बोधन गर्न सरकारको तत्काल ध्यानाकर्षण गराए ।