सर्लाहीको नेपाल भारत सीमावर्ती क्षेत्रमा पर्साको सखुअवा स्थित एक घरमा भण्डारण गरिएका टर्किस मकैंको गोदामको दृष्य
तराई टप डेष्क
सर्लाही, ७ वैंशाख । तेश्रो मुलुकबाट आयात गरेर ल्याइएका सामानहरु पुनः चोर नाका भएर तस्करीको माध्यमबाट भारत तर्फ जाने सामानहरुलाई नियन्त्रण गर्न नसकिदा सशस्त्र प्रहरी माथि प्रश्न चिन्ह् खडा हुनु स्वभाविकै रहेका छन् ।
सीमा क्षेत्रमा राजस्व चुहावटलाई नियन्त्रण गर्न, अपराधिक गतिविधिलाई नियन्त्रण गर्न, नेपाल सरकारको राजस्व संकलन कार्यलाई व्यवस्थित बनाउने र सीमा स्तम्भको सुरक्षा सहितका कार्यहरुलाई सशसत्र प्रहरीले नियमित कार्य गर्नुपर्ने हुन्छ तर सर्लाहीमा ठिक त्यसको विपरित कार्यहरु भईरहदा सशस्त्र प्रहरी माथि प्रश्न चिन्ह् खडा भएका हुन् ।
टर्कीबाट नेपाल ल्याइएका मकै नेपाल भारत सीमावर्ती क्षेत्र भन्दा तीन सय मिटर नेपाली भु भागमा कुन प्रयोजनले भण्डारण गरिएको होला ? प्रश्न उठ्नु स्वभाविकै हो तर एउटै लक्ष्य हो बढि मुनाफाको लागि तस्करीको माध्यमबाट भारत तर्फ पठाउने नै रहेको श्रोतले बतायो ।
श्रोतका अनुसार झापाको नाका भएर नेपाल भित्रिएका टर्किस मकै सर्लाही सदरमुकाम मलंगवा देखि पूर्व पर्सा गाउँपालिकाको सखुअवामा टिनको छाना भएको घरमा भण्डारण गरिएको अवस्थामा सशस्त्र प्रहरीको प्रस्तावित गुल्म टावरबाट खटिएका प्रहरी टोलीले छापा मारेर नियन्त्रणमा लिएर केही वेरमै छाडेर पछि हटे ।
२५ किलोग्राम भएको करिव ४०० बोरा भएको गोदाममा शनिवार विहानै सशस्त्र प्रहरीले छापा मारेर पिकअप भ्यानमा उक्त मकै लोड गर्दै गरिरहेको अवस्थामा सीमापारी र वारीका स्थानीय बासिन्दाहरु विरोध गर्न थाल्दा अवस्था तनावपूर्ण हुन थालेपछि उक्त मकै छाडेर सशस्त्र प्रहरी पछि हटे । मलंगवा भन्सार कार्यालय पनि त्यहाँ नसकिने अवस्था हुँदा राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोली उक्त स्थानमा पुगेको स्थानीय श्रोतले बतायो ।
यस विषयमा सशस्त्र प्रहरीका प्रस्तावित गुल्म टावरका सुमन ढुंगाना संग सम्पर्क गर्दा सम्पर्क हुन सकेनन् । सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गणका गणपति एवं एसपी देवबहादुर चन्दले हाम्रो टोली पुगेर उक्त गोदामलाई नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोली आएर अनुसन्धान कार्य सुरु गरेको दाबी गरे ।
स्थानीय बासिन्दाहरुको चर्को विरोध पछि सशस्त्र प्रहरीका टोली पछि हट्न बाध्य भएको हो नी भने प्रश्नको जवाफमा त्यस्तो केहि न भएको विदेशी सामान रहेको हुँदा राजस्व कार्यालयको टोलीलाई अनुसन्धानले हेरिरहेको उनले भने ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरी शर्माले सर्लाहीको पर्सा गाउँपालिका स्थित सखुअवा रहेको एक टिनको छाना भएको घरमा विदेशी मकै भण्डारण गरिएका कोठालाई सिल गरिएको छ । उक्त मकै विदेशबाट नेपाल मगाउने फर्मलाई आवश्यक कागजात सहित यस कार्यालयमा आउने भनिएको छ । हामी फायलहरु झिकाएर आवश्यक अनुसन्धान गर्दैछौं, अनुसन्धान नभए सम्म फर्म वा फर्म धनीको नाम भन्न मिल्दैनन उनले भने ।
स्मरणीय छ, श्रोतका अनुसार उक्त टर्किस मकैं सन्तोष साह कलवारको रहेको उमेर तथा भारतीय कारोवारी भैंलोक समुहले नेपालबाट भारत तर्फ कारोवार गर्ने गरेको छ । यी समुहले कयौं पटक टर्किस मकैंलाई सेटिंगकै आधारमा नेपालबाट भारत पुर्याइसकेको ति श्रोतको दाबी छ । सर्लाहीको सग्राम्पुर, पर्सा गाउँपालिको सखुअवा, त्रिभुवननगर, मलंगवाको लचका, गोरखकाली सहितका नाकाहरुबाट अहिले धमाधम तस्करीको माध्यमबाट विदेशी सामान नेपालबाट भारत तर्फ तथा किराना, कपडा, चिनी, स्पेयर पार्टस सहितका बहुमुल्य सामानहरु भारतबाट नेपाल आउने गरेको उक्त कार्यमा सुरक्षामा तैनाथहरुको सेटिंगमा अबैध गोरखधन्धा जारी रहेका छन् ।