सर्लाही । पत्रकारिता क्षेत्रमा संलग्न व्यक्तिहरूको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिममा सहभागी पत्रकारहरूलाई समाचार लेखन, सही एंगलको छनोट, रिपोर्टिङका क्रममा अपनाउनु पर्ने सावधानी, मल्टिमिडिया सामग्रीको प्रयोग, मिथ्या सूचना (Disinformation) को पहिचान र न्यूनीकरण, साथै पत्रकार आचारसंहिताको पालना जस्ता महत्वपूर्ण पक्षहरूमा गहिरो प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिममा नेपाल र अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध पत्रकारिता फेलोसिप कार्यक्रमहरूको परिचय र सहभागिताका अवसरहरूबारे पनि जानकारी दिइएको थियो । यसले सहभागी पत्रकारहरूलाई दीर्घकालीन पेशागत विकासमा सहयोग पुग्ने अपेक्षा गरियो ।
तालिम सुनौलो सिसौट नेपालका अध्यक्ष अरुण प्रताप सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहले पत्रकारिताको भूमिका र यसको उत्तरदायित्वबारे विचार व्यक्त गरे ।
विशेष अतिथि प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले पत्रकारिता समाजको ऐनाको रूपमा रहेको उल्लेख गर्दै बस्तुपरक, यथार्थ र उत्तरदायी पत्रकारिताको खाँचो औँल्याए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रविन्द्र कार्की, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, विभिन्न सञ्चार माध्यमका प्रतिनिधि तथा नागरिक अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
तालिममा अनुभवी प्रशिक्षक अजित तिवारी र दिवाकर उप्रेतीले सहभागीहरूलाई सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिएका थिए । उनीहरूले समाचारको विषयवस्तु छनोट देखि लिएर अन्तिम सम्पादन सम्मको प्रक्रिया, तथ्य जाँच, स्रोतको पुष्टि, तथा डिजिटल उपकरणहरूको सदुपयोगबारे अभ्यासात्मक जानकारी दिएका थिए ।
तालिमको समापन सत्रमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, आयोजक संस्था सुनौलो सिसौट नेपालका अध्यक्ष अरुण प्रताप सिंह र प्रशिक्षकद्वय तिवारी तथा उप्रेतीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै शुभकामना व्यक्त गरेका थिए ।
यस तालिमले सर्लाही जिल्लाका पत्रकारहरूलाई अझ जिम्मेवार, सूचनामूलक र व्यावसायिक पत्रकारिता अभ्यासतर्फ प्रेरित गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।