मोटरसाइकलले ठक्कर दिने व्यक्तिलाई प्रहरीले भगाएको आरोप लगाउदै मत्सरीका स्थानीय बासिन्दाहरुद्धारा बाटो अवरुद्ध पारी चार घण्टा सम्म प्रदर्शन

तराई टप संवाददाता
रौतहट, २० मंसिर । मोटरसाइकलले ठक्कर दिने व्यक्तिलाई प्रहरीले भगाएको आरोप लगाउदै दुर्गा भगवती ३ का स्थानीय बासिन्दाहरु प्रहरीको विरुद्ध गौर गंगापिपरा सडक खण्डमा टायर बालेर सोमवार विहानै देखि प्रदर्शन गरेको छ ।
सनराइज बैंक दुर्गा भगवती शाखामा कार्यरत सुरक्षा गार्ड रविन्द्र साहलाई इलाका प्रहरी कार्यालय गंगापिपराका प्रहरीले भगाएको आरोप लगाउदै मोटरसाइकल ठक्करबाट मृत्यु भएको युवक सन्तकुमार झाको परिवार सहित मत्सरीका बासिन्दाहरु आज विहान ६ बजे देखि गौर पिपरा सडकखण्डको मत्सरीमा बाटो अवरुद्ध बनाई टायर बालेर प्रहरी विरुद्ध प्रदर्शनमा उत्रिएको हो ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीका चन्द्रकिशोर झाको १६ बर्षिय छोरा सन्तकुमार झालाई नेपाली नम्वर प्लेट भएको मोटरसाइलकले संस्कृत माध्यमिक विद्यालयको दक्षिण तर्फ गत शनिवार दिउसो ३ बजेको समयमा ठक्कर दिदा गम्भीर घाईते भएका थिए । युवक झाको स्थानीय बागमती हेल्थ केयरमा सामान्य उपचार पछि थप उपचारको क्रममा काठमाडौंमा शनिवार राति १ बजेको समयमा मृत्यु भएको थियो ।
युवकको मृत्यु भएपछि सिसिटिभी फुटेजको आधारमा अभियुक्त पहिचान गरिएपछि सनराईज बैंकमा डिउटी गरिरहेका ठक्कर दिने रविन्द साहलाई बैंकबाटै इप्रका गंगापिपराको प्रहरीले भगाएको आरोप पिडित परिवारको वृजकिशोर झाले लगाए । मृतक युवकको काठमाडौमै पोष्टमार्टम गरेर शतगतको लागि शव जिम्मा लगाएको र काठमाडौबाट घर आएपछि आज विहानैबाट प्रहरीको कार्यशैली माथि प्रश्न चिन्ह खडा गर्दै प्रदर्शनमा उत्रिए ।


सहमती पछि शव उठाई बाटो सुचारु
सोमवार विहानै देखि दोषिलाई कारवाही, पिडितलाई क्षतिपूर्ती र प्रहरीको कार्यशैली विरुद्ध प्रदर्शनमा उत्रिए पछि जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी निरीक्षकको नेतृत्वमा आएको प्रहरी र पिडित पक्ष संग निकै छलफल गर्दा चार घण्टा पछि बाटो सुचारु भएको छ ।
पिडित पक्ष र प्रहरी विच अभियुक्तलाई यथाशिघ्र नियन्त्रणमा लिने, मृतक परिवारलाई राज्यले तोके अनुसारको क्षतिपुर्ती दिने व्यवस्थापन गराउने र इप्रका गंगापिपरा का प्रहरीले देखाएको गलत आचरण विरुद्ध विभागी कारवाही गर्ने लगायतको तिन सुत्रिय मौखिक सहमती भएपछि बाटो सुचारु भएको छ ।
सहमती पछि मृतक परिवारले शवलाई शतगत गर्न वागमती तर्फ गएको बताइएको छ ।

संस्कृत माध्यमिक विद्यालय मत्सरीमा कक्षा ९ मा अध्ययनरत सन्तकुमार झा निकै प्रतिभाशाली विद्यार्थी रहेको हुँदा निजको शोक हिजो आईतवार १ दिन विद्यालय बन्द समेत गरिएको थियो ।