सुनसरी, १८ वैंशाख । आम जनता पार्टी (आजपा) का राष्ट्रिय अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा मुलुकमा व्याप्त बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरे ।
१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विहिवार सुनसरीको इनरुवामा आजपा निकटको आम ट्रेड युनियन फेडरेसनद्वारा आयोजित दलाल दलतन्त्र विरुद्धमा खबरदारी सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले उक्त टिप्पणी गरे ।
‘मुलुकमा व्याप्त बेथिति, भ्रष्टाचार, अनियमितताले जरो गाडिसकेको अवस्थामा प्रधानमन्त्रीजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दुखद छ । आम जनताले परिवर्तन र निकास खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउछ ? सरकारले मुलुकलाई अन्यौलको बन्दी बनाएको छ । यसरी मुलुक अगाडी बढन सक्दैन्’ उनले भने ।
यस्तै उनले प्रधानमन्त्री ओलीको स्टन्टले वैदेशिक सम्बन्ध विग्रदै गएको छ । ‘मुलुकलाई अगाडी बढाउन असफल भएको वर्तमान सरकारको स्टन्टले वैदेशिक सम्बन्ध विग्रदै गएको छ । हाम्रा दुई छिमेकी देश भारत र चीनसंग सम्बन्ध राम्रो छैन् । प्रधानमन्त्रीको स्टन्टले भारत सहितका देशसंगको सम्बन्ध बिग्रेको छ,’ उनले भने ।
श्रमजिवि, मजदुर सहित आम जनताको पक्षमा काम नगरी वर्तमान सरकार बिचौलिया र भगौडा बर्गको सेवामा लागेको आरोप लगाए । बिचौलिया र भगौडा बर्गको सेवा गरिरहेको सरकारले बिचौलियाकै सेटिङमा लागेकाले गभर्नर नियुक्तीमा ढिलाई गरेको उनले बताए ।
नेपाल सहित विदेशमा श्रमजिवि मजदुरहरु बिभिन्न समस्याका कारण तड्पिरहेको भए पनि सरकार मौन बसेको उनले बताए । विदेशमा काम गरिरहेका नेपाली मजदुरहरुले ट्रेड युनियनको हकअधिकार पाउनुपर्ने आजपा अध्यक्ष साहले बताए ।
‘अहिलेको २१औं शताब्दीमा दास्ताको नारकिय जिवनमा धकेल्न पाईन्छ ? स्थायी जागिरेले आफ्नो अधिकारका लागि संगठन निर्माण गर्न पाउने, ग्रुप बार्गेनिङ गर्न पाउने तर पराई देशमा गएका युवा मजदुरले बोल्न पनि नपाउने यो कहाँको न्याय हो ?’ आजपा अध्यक्ष साहले सरकारसंग प्रश्न गरे ।
साहले नेपालको उद्योगमा नेपालीले रोजगार नपाउने र विदेशीलाई रोजगार दिने काम आफूलाई अस्वीकार्य भएको बताए । पहिलो प्राथमिकता नेपाली मजदुरलाई नै दिनुपर्ने उनले बताए । ट्रेड युनियनको हकलाई स्वीकार नगर्ने देशमा नेपाली मजदुर पठाउन नहुने उनले बताए । ट्रेड युनियनको मान्यता नदिने देशमा नेपालीलाई किन पठाएको भन्दै उनले सरकारसंग प्रश्न समेत गरेका छन् ।
यस्तै नेपालमा घरेलु कामदारको हकअधिकार सुनिश्चित नभएको बताए । नेपालमा काम गरिरहेका घरेलु कामदारको हितमा हुने गरी कानून निर्माणमा सरकारले ढिलाई गर्न नहुने उनले बताए । यथाशिघ्र घरेलु कामदारको हितमा हुने गरी कानून निर्माण गर्नुपर्ने उनले बताए ।
आम ट्रेड युनियन फेडरेशनका अध्यक्ष शिव थापाको अध्यक्षतामा भएको कार्यक्रममा आजपाको सहअध्यक्ष तिलक थापा, बिल्टू यादव, जुरीलाल मोची लगायतका नेताहरूको सहभागिता रहेको थियो ।