गरुडा (रौतहट), ११ जेठ । गरुडा नगरप्रमुख कन्ठमुणी प्रसाद कलवार, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलमले टेण्डर अगाबै नै प्रक्रिया मिचेर योजना संचालन गराई ऐनकानुनलाई खुलेआम चुनौती दिदै आएता पनि सम्बध निकाय मौन रहनुबाट अनियमितता एवं भ्रष्टाचारले यतिखेर गरुडा नपामा जडो गाडिसकेका छन् ।
घतलाग्दो के छ भने, बोलपत्र (टेण्डर) आह्वान भएका योजनाहरुमा कतिपयमा एउटै कामबाट दोहोरो भुक्तानी गराउने हिसावले नामको उपभोक्ता समितिको माध्यमबाट काम धमाधम गराईरहेको पाइएका हुन् ।
गरुडा नगरपालिका वडा नम्वर ६ पोठियाहीमा छठघाट निर्माणका लागि १ करोड ३८ लाख ४६ हजार १५१ रुपैया ८० पैसाको इबिडिंग बोलपत्र आह्वान गरिएको छ । जसको समय आउदो जेठ १८ गते पुरा हुँदैछ तर उक्त समय अगावै वैशाख महिना देखि छठघाटको निर्माण कार्य सुरु छ । बोलपत्रको प्रक्रिया सम्पन्न नहुँदै कार्य सुरु हुनु आफैमा हास्यास्पद रहेको आरोप स्थानीय बासिन्दा एवं गरुडा नगरपालिकामा मेयरका प्रत्यासी अनिल यादवले लगाए ।
त्यती मात्रै नभई निर्माणाधिन छठघाटमा सुर्य मन्दिरको निर्माणको कार्य उपभोक्ता समितिलाई दिएर एउटा कार्यमा दुई थरीबाट कार्य गराई भुक्तानी गराउने गरुडा नगरपालिकाको चरम लापरवाहीको पोल उनले खोले ।
मेयर प्रत्यासी यादवले गरुडा नगरपालिका वडा नम्वर ५ स्थित सहिद रामविश्वास जयसवाल प्रतिष्ठानको भवन निर्माण गर्न २०८२ वैशाख १८ गते बोलपत्र आह्वान गरिएता पनि उक्त भवनको जगको कार्य बैशाख महिना देखि सुरु कुन प्रक्रियाबाट गरिदैछ त्यसको यथार्थ छानविन हुनुपर्ने उनले सम्बध निकाय संग जोडदार रुपमा माग गरे ।
एकातिर गरुडा नगरपालिकाबाट बोलपत्र आह्वान गरेर नाटक मंचन गर्नु अर्को तर्फ आफनै मानिसलाई उपभोक्ता समितिमा मानिसहरु राखेर सेटिंगकै विभिन्न निर्माण व्यवसायीहरु मार्फत काम गराएर गरुडा नगरपालिकाको नगरप्रमुख कलवार, निमित्त प्रमुख प्रशासकीय अधिकृत आलमको निर्देशनलाई इन्जिनियर यादवले प्रक्रिया विपरित कार्य गरेर नपामा ठूलो आर्थिक व्यय भार थुपार्दै भ्रष्टाचारमा चुल्लुम्म डुबेको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान देखि लिएर सम्बध विभिन्न निकायलाई जानकारी गराईसक्दा पनि अहिले सम्म उक्त कार्यहरु माथि अंकुश नलाग्दा अनियमित कार्य गर्नेहरुको मनोबल बढेर गएका छन् ।
गरुडा नगरपालिकाबाट बैशाख १८ र १९ गते करिव साढे ८ करोड भन्दा बढिको ६ वटा योजनाको निर्माणका लागि इ विडिंग आह्वान गरियो रेकर्डमा देखिन्छ तर व्यवहारिक हिसावमा फरक देखियो । अधिकाँश योजनाहरु टेण्डर प्रक्रिया पुरा हुनु अगाबैबाट संचालन हुनुबाट स्थानीय सरकार संचालन प्रणाली माथि अहिले गम्भीर प्रश्न खडा भएको छ ।
यसरी नेपाल सरकारको लाखौं लाख रकमको गरुडा नगरपालिकाको नगरप्रमुख कन्ठमुनी प्रसाद कलवार र निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलम सहितका कर्मचारीको मनलाग्दी कार्यबाट अनियमितताको पराकाष्ठा नाघेको आरोप लगाइएको छ ।
गरुडा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलमले टेण्डर आह्वान भएको बताउदै तर काम कसरी सुरु भयो आफूसंग नसोध्नुस उनले भने ।
गरुडा नगरपालिकाको नगरप्रमुख कन्ठमुनी प्रसाद कलवारले अर्को दिन आउनुस भन्छु, अहिले जानकारी दिन फुर्सद छैन जस्ता गैर जिम्मेवारीपूर्ण जवाफबाट गरुडा नगरपालिकामा भईरहेको संस्थागत भ्रष्टाचारको पोल खोदिएको छ ।
स्मरणीय रहोस की, गरुडा नगरपालिकामा ऐन कानुन र प्रक्रिया मिचेर उक्त योजनाहरुको गोप्य सूचना प्रकाशित गरेर मनलाग्दी निर्माण व्यवसायीहरुबाट काम सुरु गराएको कार्यबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास स्थित कार्यालयले निमित्त प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखलाई उपस्थित गराएर २० लाख भन्दा बढिको रकमको बोलपत्र आह्वान गर्दा इबिडिंग गर्नुपर्ने भन्दै गोप्य सूचनालाई रद्द गरेर पुनः इबिडिंग सुचना बैशाख १८ र १९ गते प्रकाशित गर्नुपरेको बताइएको छ ।
त्यती समेत हुँदा गरुडा नगरपालिकामा डेढ करोडको लागतमा निर्माणाधिन मस्जिद भवनलाई गोप्य एवं हार्ड विडिंग गरेर ठूलो आर्थिक चलखेल गरिएको स्थानीय अनिल यादवले गम्भीर आरोप नगरप्रमुख कलवार माथि लगाए ।
यदी मुलुकमा कानुनी राज्य छ भने आज भोली गरुडा नगर कार्यपालिकामा सम्बध निकाय आएर उक्त योजनाहरुको अध्ययन अनुगमन गरेर दोषिलाई कानुनी कठघेरामा उभ्याई गरुडा नगरपालिकालाई सुधारको बाटोमा दोह्र्याउन जोडदार माग गरुडाबासीले गरेका छन् ।