सर्लाही, १२ जेठ । सर्लाही सदरमुकाम मलंगवा स्थित भाँडसर प्रहरी चौकीमा कार्यरत असई तस्कर संग साँठगाँठ राखेर घुसको रकम लिदै गरेको तस्वीर एवं फुटेज सार्वजनिक भएपछि उनको जिम्मेवारी खोसेर कारवाहीको लागि जिल्ला तानिएका छन् ।
प्रहरी संगठनलाई बदनाम हुने गरी गरिएका क्रियाकलापको फुटेज एवं तस्वीर भाईरल बनेपछि मलंगवा नगरपालिका–५ स्थित सीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) राजेशप्रसाद यादवलाई जिम्मेवारी खोसिदै कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा तानिएका हुन् ।
गएराति प्रसनी यादव सहितका त्यहाँ कार्यरत टोलीलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा तालिएको तथा उक्त स्थानमा जलन्धर प्रसाद यादवको कमाण्डमा नयाँ टोली पठाइएको प्रहरी श्रोतबाट बुझिएको छ ।
प्रहरी चौकी भाँडसरको हाता भित्रै प्रसनी राजेश र तस्कर बीचको कारोवार गर्न पैसाको लागि मोलतोल भईरहेको फुटेज सार्वजनिक हुँदा जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काले तत्कालै उनको जिम्मेवारी खोस्दै कारवाहीका प्रक्रिया अघि बढाएको बताइएको छ ।
प्रहरीको आचरण संग जोडिएको विषय भएको हुँदा आन्तरिक रुपमा कारवाहीको प्रक्रिया अघि बढाएको हुँदा यसलाई सार्वजनिक गरेर प्रहरी संगठन माथि आँच आउन नदिने उद्देश्यका साथ आन्तरिक छानविन सुरु भईसकेको जिल्ला प्रहरी कार्यालयबाट बुझियो ।
भाँडसरमा कार्यरत प्रसनी राजेशको भिडियो सार्वजनिक भएपछि मात्रै जिम्मेवार खोसिएर कारवाहीको लागि जिल्ला तानिएको भएपछि सर्लाहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा भन्सार छलेर चिनी, खाने तेल, चामल, मलखाद्य, लत्ताकपडा, स्पेयर पाट्र्स, सुर्ती जन्य पदार्थ, राँगा, भैसी, कुखुरा, कुखुराको चल्ला, कस्मेटिक तथा खेलकुदको सामग्री सहित विभिन्न सामानहरु भारतबाट नेपालमा निर्वाध रुपमा आउने गरेका छन् । यस्तै मदिरा, सुपारी, कालो मरिच, मकै, अलैंची, इलेक्ट्रोनिक चुरोट (भेप) लगायतका सामानहरु नेपालबाट भारतमा जाने गर्दछन् ।
यसरी सामानहरु चोरबाटो भएर आउदा र जाँदा सरकारलाई आउने राजस्वमा प्रतिकुल असर परिरहेको मलंगवा भन्सार कार्यालय श्रोतबाट बुझिएको छ ।