काठमाडौं, १५ जेठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साले प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा नक्कली गणतन्त्रवादी नेता रहेको बताए ।
नेकपा (एमाले) का अध्यक्ष समेत ओलीले सडकमा तमासा देखाएर के साबित गर्न खोजेका हुन् । सडकमा तमासा देखाउनु भन्दा राम्रो अहिलेको संकट समाधानका लागि उनले प्रधानमन्त्री ओलीलाई राजीनामा गरेर अन्तरिम सरकार गठन गर्न आह्वान गरे ।
गणतन्त्र दिवसको उपलक्ष्यमा विहिवार आम जनता पार्टी काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा आयोजित ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र ?’ विषयक विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न सुझाव दिए ।
‘अहिलेको व्यवस्थाले कोही पनि सन्तुष्ट छैनन । पूर्व राजा देखी अहिलेका दलका राजाहरुले सडकमा नाटक गरिरहेका छन,’ आजपा अध्यक्ष साहले भने, ‘म प्रधानमन्त्रीलाई भन्न चाहन्छु, सडकमा तमासा गरेर केही हुदैन । तपाई राजीनामा दिएर देशलाई निकास दिनुस अन्तरिम सरकार गठन गरेर अगाडी बढौं ।’
गणतन्त्र नेपालमा हातीको देखाउने दाँत जस्तै भएको टिप्पणी गर्दै उनले राजतन्त्रमा पनि पञ्चायतको नाममा जनतालाई झुक्याउने काम भएको स्मरण गरे । गणतन्त्रमा नेताहरुले लुटको साम्राराज्य खडा गरेको बताउदै उनले अहिलेका नेताहरु भगौडा दलाल बर्गको प्रतिनिधित्व गरिरहेको बताए ।
उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नक्कली गणतन्त्रवादी भएको ठोकुवा गरे । पार्टी एण्ड कम्पनीको शासन व्यवस्था भएकाले नेपाली जनता असन्तुष्ट रहेको बताउदै उनले नक्कली गणतन्त्रवादी ओली र देउवाले गणतन्त्रलाई नै बदनाम गराए बताए ।
‘जोगीको भेषमा सीताको अपहरण भयो । त्यस्तै गणतन्त्रको नाममा नक्कली गणतन्त्रवादी ओली, देउवा एण्ड कम्पनीको शासन छ । गणतन्त्रको खोल ओढेर लुटको साम्राराज्य खडा गरिएको छ । आम निर्वाचनमा कांग्रेसले एमालेको सरकार बनाउँछौ र एमालेले कांग्रेसको सरकार बनाउँछौं भनेर मतदातासंग मत मागेको होईनन् । तर यहाँ अप्राकृतिक, अवैधानिक गठबन्धनले लुटको साम्राराज्य खडा गरिएको छ,’ आजपा अध्यक्ष साहले भने ।
अहिलेको सरकार र गठबन्धनले नेपालमा लुटेर विदेशमा नेपालको पूँजी लैजाने बर्गको संरक्षक भएको बताउदै उनले सरकारले पनि त्यही बर्गको पक्षपोषणमा जुटेको बताए । जनताको सर्वोच्चतालाई लोकतन्त्र भन्ने गरिएको भए पनि नेपालमा दलको सर्वोच्चता रहेकाले यसलाई लोकतन्त्र मान्न नसकिने साहले बताए । नेपालमा लोकतन्त्र नभई दल र छोटे राजाहरुको लुटतन्त्र र सिण्डिकेट रहेको बताउदै उनले यसलाई लोकतन्त्र मान्न नसकिने बताए ।
सोही कार्यक्रममा प्रा.डा. गोपिलाल मैनालीले कांग्रेस र एमालेका नेताहरुको तनमन बाइबलमा रहेकाले गणतन्त्र बदनाम भएको बताए । उनले कांग्रेस र एमालेका नेतालाई यथाशिघ्र कुर्सी खाली गर्न चेतावनी दिदै कुर्सी खाली नगरे आउँदो २०८४ को निर्वाचनमा कांग्रेस र एमाले मुक्त नेपाल बन्ने ठोकुवा गरे ।
डा सुरेन्द्र भण्डारीले नेताहरुको मनोमानी, भ्रष्टाचार, अनियमितताका कारण मुलुक संक्रमणकालीन अवस्थामा पुगेको टिप्पणी गरे । सोही कारण अहिले गणतन्त्रमै गम्भिर प्रश्न उठिरहेको समेत उनले बताए । दलिय दलतन्त्रका कारण अहिले जनता निराश भएको बताउदै उनले जनतामा असन्तुष्टि बढदै गईरहेको बताए ।
दलहरुले जनताको आवश्यक्ता, चाहना पुरा गर्न नसकेका कारण जनतामा निराशा बढदै गईरहेको बताउदै उनले ठुला दल एण्ड कम्पनीका कारण लोकतन्त्रको रक्षा हुन नसकेको बताए । एमाले र कांग्रेस जस्ता ठुला दलकै कारण गणतन्त्रमा प्रश्न उठिरहेको बताउदै उनले पूर्वपञ्चहरुबाट लोकतन्त्रको रक्षा हुन नसक्ने बताए ।
डा सुन्दरमणी दिक्षितले अहिलेको संसदीय व्यवस्था नेपाली जनताका लागि अभिसाप भएको बताउदै अर्को व्यवस्थामा जानुपर्ने बताए । संसदीय व्यवस्थामा भ्रष्टाचार, अनियमितता, मनोमानी बढदै गईरहेको बताउदै उनले यही व्यवस्था रहीरहे भोलीको दिनमा नेपाल खारेज हुने टुक्रिन सक्ने चेतावनी समेत उनले दिए ।
आजपा काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डित रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु चन्द्रभुषण साह, नारायण पाण्डे, रुपसागर उपाध्याय, बबिता साह, रबिन्द्र सिंह, रञ्जु साह, किशोरी साह लगायतको विशेष सहभागिता रहेको थियो