भारत सरकारको सहयोगमा दुई पालिकाको विपतमा परेका पिडित ६१० परिवारलाई टेण्ट, ट्रिपाल र मैट वितरण

   २५ मंसिर २०७८, शनिबार १५:४९  

तराई टप
मत्सरी (रौतहट), २५ मंसिर । भारत सरकारको आर्थिक सहयोगमा नेपाल भारत महिला मैत्री समाज काठमाडौंद्धारा रौतहटको दुर्गा भगवती गाउँपालिका र गरुडा नगरपालिकाको विपत विपन्न पिडित परिवारलाई साढे ५५ लाख मूल्य बराबरको ६१० परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरी स्थित दुर्गा मन्दीर परिसरमा शनिवार आयोजित एक कार्यक्रमको आयोजना गरेर बाढी, आगलागी लगायतको विभिन्न विपतमा पिडित भएको विपन्न परिवारलाई भारत सरकारबाट प्राप्त भएको साढे ५५ लाख मूल्य बराबरको ट्रिपाल, मैट र टेण्ट लगायतको सामग्री वितरण गरिएको हो ।


विपतमा परेका विपन्न परिवारको लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भारत महिला मैत्री समाज काठमाडौंको अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टीको नेतृ एवं संघिय साँसद श्रीमती चन्दा चौधरीले भारत सरकारको अनुदानबाट प्राप्त भएको राहत सामग्री ल्याउन ढिलै भएपनि पिडित परिवार समक्ष पुर्याउन सकेकोमा निकै खुशी लागेको बताइन् ।
प्रदेश नम्वर २ को ८ वटै जिल्ला र प्रदेश ५ का रुपनदेही तथा कपिलबस्त गरी १० जिल्लाको लागि नेपाल भारत महिला मैत्री समाजलाई पौने ५ करोड अनुदान रकम भारत सरकारले उपलब्ध गराएका थिए । सोही अनुरुप सामान खरिद गरेर नेपाल ल्याउदा नेपाल सरकारको गृह र अर्थ मन्त्रालयको सहयोगमा भन्सारमा लाग्ने राजस्व छुट भएपछि १० जिल्लाको जनता समक्ष राहत सामग्री पुर्याउने क्रममा आज रौतहटको दुर्गा भगवती र गरुडा नगरपालिकाको पिडित जनता सम्म पुर्याउन सफल भएको उनले भनिन ।
नेपाल भारत मित्रता सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपाली जनताहरुको दुखमा सधै साथ रहेर नेपाली जनताको घाँउमा मलहमपटी लगाउने कार्यमा अग्रीनी भुमिका निर्वाह गर्ने भारतीय सरकारलाई धन्यवाद दिदै उक्त सामग्री नेपाली जनता समक्ष डिउटी फ्रि गरिदिने नेपाली सरकार समेतलाई उनले धन्यवाद दिइन । नेपाल भारत विच सदियौं देखि कायम रहेको मित्रताको सम्बन्धलाई बलियो बनाउन सधै निष्पक्ष रुपमा नेपाल भारत महिला मैत्री समाजले भुमिका खेल्दै आएको चर्चा गर्दै नेतृ चौधरीले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो लगायतको क्षेत्रमा भारत सरकारबाट यथोचित रुपमा सहयोग प्राप्त भईरहेको तथा अगामी दिनहरुमा पनि प्राप्त भईरहने विश्वाश व्यक्ति गरिन ।


सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बाढी लगायतको विभिन्न कारण विपतमा परेको परिवारहरुलाई भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाजले राहत सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिदै यस क्षेत्रको प्रमुख समस्या भनेको वागमती र लाल बकैया नदीमा बर्षेणी आउने गरेको बाढीबाट हुने क्षतिलाई न्यूनिकरण गरी यहाँको समस्यालाई स्थायी रुपमा समाधान गर्ने तर्फ नेपाल सरकार सहित भारत सरकारको समयमै ध्यान जानुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
दुर्गा भगवती गाउँपालिकाको निमित्त प्रशासकीय अधिकृत जगतप्रसाद साह, वडाध्यक्षद्धय सुरेश चौधरी र धर्मनाथ चौधरी, लोसपाको नेताद्धय रतिनाथ झा र संजय यादव सहित स्थानीय बासिन्दाहरुले विपतमा परेका परिवारलाई राहत वितरण गर्नु एकदमै सकारात्मक एवं मानविय धर्म भएको बताए ।
दुर्गा भगवती गाउँपालिकाको ५ वटै वडा र गरुडा नगरपालिकाको गरी ५०० परिवारलाई ट्रिपाल र मैट तथा घरबार विहिन भएका ११० जना परिवारलाई ठूलो सानो गरी ११० वटा घर जस्तै टेण्ट हस्तान्तरण गरिएको जानकारी लोसपाको युवा नेता मुकेश झाले दिए । लोसपाको युवा नेता एवं दुर्गा भगवती गाउँपालिका ३ मत्सरी निवासी मुकेश झाको अथक प्रयास एवं मेहनतबाट आज नेपाल भारत महिला मैत्री समाज काठमाडौले दुर्गा भगवती र गरुडा नपाको विपतमा परेका पिडित परिवार समक्ष साढे ५५ लाख मूल्य बराबरको टेण्ट, ट्रिपाल र मैट वितरण गर्दा जनताहरु उत्साहित भएका थिए । केही जनताहरु राहत पाउनबाट वंचित भएकाहरुलाई चाँडै यस्ता कार्यक्रमको मार्फत वितरण गर्ने समेत प्रतिबद्धता नेता झाले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै