रौतहट, ४ असार । ११ औं अन्तरराष्ट्रिय योग दिवसको अवसरमा रौतहटको दुर्गा भगवती गाउँपालिकाको सरस्वती उच्च माध्यमिक विद्यालय पिपरा भलोहियाँमा भव्यता साथ योग कार्यक्रमको आयोजना गरिएर योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
११ औं अन्तरराष्ट्रिय योग दिवसलाई सभ्य एवं भव्य रुपमा मनाएर आम मानिसलाई स्वस्थ रहन सन्देश प्रवाह गर्ने उद्देश्यबाट भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा तथा दुर्गा भगवती गाउँपालिकाको सहकार्यमा र नेपाल भारत मैत्री संघ सहित पतञ्जली योग केन्द्रको उपस्थितिमा दुर्गा भगवती गाउँपालिकाको सरस्वती उच्च माध्यमिक विद्यालय पिपरा भलोहियाँको परिसर भित्र योगाभ्यास कार्यक्रम बुधवार विहान सम्पन्न भएको हो ।
योग कार्यक्रमका प्रमुख अतिथिको रुपमा उपस्थित भएका मधेश प्रदेश सरकारको अर्थ मन्त्री सुनिलकुमार यादव र भारतीय महावाणिज्यदूत देवी सहाय मिणाले संयुक्त रुपमा योग कार्यक्रमको उदघाटन गरेका थिए ।
योग कार्यक्रमको महत्व माथि प्रकाश पार्दै महावाणिज्यदूत देवी सहाय मिणाले संयुक्त राष्ट्र संघको ६९ औं महासभामा प्रस्ताव प्रस्तुत गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदले “योगले मन र शरीरको एकाग्रता, विचार, कर्म, संयम, पूर्णता बनाउनमा सहयोग प्राप्त हुनुका साथै प्रकृति बीचको सामन्जयस, स्वास्थ्य र लोक कल्याणको लागि एक समग्र दृष्टिकोर्णलाई मुर्त रुप दिइने गर्दछ । यो केवल शारीरिक व्यायाम मात्र नभई संसार र प्रकृतिसंग एकताको भावनालाई पत्ता लगाउने तरिका पनि हो” प्रधानमन्त्री मोदीले भनेको सन्देशलाई उनले स्पष्टका साथ राखे ।
योग कर्म दैनिक जीवनको लागि अति नै महत्वपूर्ण साधना भएको हुनाले मानिसलाई स्वस्थ रहन योग अनिवार्य रहेको महावाणिज्य दूत मिणाले बताए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेशका अर्थ मन्त्री सुनिलकुमार यादवले योग गर्नु निरोगी बन्नु, भने अवधारणालाई हरेक मानिसले आफनो जीवनको लक्ष्य बनाएमा हामी दिर्घायु, निरोगी एवं विचारवान हुने बताए ।
विशिष्ट अतिथिको रुपमा नेपाली काँग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले अहिलेको युगमा मानिसहरुमा आल्सिपना हाबी हुँदै गइरहदा नै विभिन्न रोगहरुको चपेटामा पर्दै गएको हुँनाले स्वस्थ, निरोगी, दिर्घायु एवं विचारवान बन्नका लागि योग शिक्षालाई अपनाई दैनिकी जीवनमा समावेश गर्नुबाहेक अन्य कुनै विकल्प नरहेको बताए ।
दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंहले सक्षरताबाट सम्पन्न रहेका दुर्गा भगवती गाउँपालिकाको यस क्षेत्रमा योगको पर्याप्त सम्भावनाहरु रहेको हुँदा नियमित रुपमा योग गर्नका निमित्त योगशालाको आवश्यक्ता रहेको हुँदा सम्भव भए भारत सरकारको लगानीमा गंगापिपरामा योगशाला भवनको निर्माण गराउनका लागि भारतीय महावाणिज्य दूतावासको ध्यानाकर्षण गराए ।
गाउँपालिका अध्यक्ष सिंहले विगतका दिनमा भारत सरकारको आर्थिक सहयोगमा सरस्वती उच्च माध्यमिक विद्यालयमा दुई तल्ले भवन निर्माण भएको चर्चा गर्दै उक्त भवनमा प्रविधि मैत्री बनाएर अहिलेको बैज्ञानिक युग संग जोड्नमा समेत मद्दत एवं सहयोग पुर्याइदिन समेत आग्रह गरे ।
योग कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सदस्य नागेन्द्र साह, प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, प्रहरी उपरिक्षक नेत्रमणी गिरी, सशस्त्र प्रहरी उपरिक्षक सन्तोषकुमार बस्नेत, वाणिज्यदुत मनिष दास, पूर्व गाउँपालिका प्रमुख अरुण साह, सरस्वती उच्च मावीका प्रधानाध्यापक राजेन्द्र साह, दुतावासका कर्मचारीहरु, नेपाल भारत मैत्री संघका राजिव सिंह, विद्यालयका शिक्षक शिक्षिकाहरु, सेवा निवृत्त कर्मचारीहरु, स्थानीय बासिन्दाहरुको साथै सरस्वती उच्च मावीका उल्लेख संख्यामा छात्रछात्राहरुको सहभागितामा योग कार्यक्रम आयोजना भएको भारतीय महावाणिज्य दूतावास वीरगञ्जले जनाएको छ ।
साताव्यापी रुपमा ११ औं अन्तरराष्ट्रिय योग दिवसलाई मनाउन भारतीय महावाणिज्य दूतावास वीरगञ्जले आज दुर्गा भगवतीमा योग कार्यक्रमको आयोजना गरेर जनमानसमा योग प्रतिको भावनालाई जागृत गराउनमा सहयोग पुर्याएको दुर्गा भगवती गाउँपालिका परिवारले वाणिज्य दूतावास प्रति आभार व्यक्त गरे ।
योग कार्यक्रमको फिचर तस्वीर