रौतहट, १३ असार । मौसम परिवर्तन संगै मनसुनको समयमा डेंगु संक्रमणको जोखिम बढ्न सुरु भएको छ ।
नेपाल सरकारको स्वास्ग्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जारी गरेको तथ्याँक अनुसार गएको पुस महिना यता देशैभरी १ हजार ५६१ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
तर गत एक साता भित्र ९१ जनामा डेंगुका नयाँ संक्रमित फेला परेको हुँदा मनसुनको समयमा पानी जम्न नदिन तथा अन्य सावधानी अपनाउन इपिडिमियोलोजी महाशाखाले आम जनसमुदाय संग आग्रह गरेको छ ।
विगतका वर्षहरु भन्दा यस वर्ष डेंगु सङ्क्रमण बढेको देखिएको छ । मनसुनको सुरुमै बिरामीहरु बढ्न थालेको छ । भदौ असोज सम्म डेंगु ह्वातै बढ्न सक्ने सरुवा रोग विशेषज्ञहरुको राय रहेको छ । समयमै सजकता नअपनाए यसले महामारीको रूप लिन सक्ने विज्ञहरुले चेतावनी दिए ।
यसअघि नेपालमा सन् २०१० मा रूपन्देही, नवलपरासी लगायत तराईका जिल्लाहरुमा डेंगुले महामारीको रूप लिएको थियो । २०१९ मा धरानमा डेंगु व्यापक फैलिएको थियो । पछिल्ला वर्षहरुमा काठमाडौँ उपत्यका लगायतका जिल्लाहरुमा पनि डेंगुका बिरामीहरू ह्वात्तै बढ्न थालेका छन् ।
देशभरका ७३ जिल्ला डेंगु पुगिसक्यो । यसले गम्भीर असर पार्न सक्ने भएकाले पूर्वतयारी नै सबैभन्दा उचित विकल्प भएको विज्ञहरू बताउँछन् । यस वर्ष बागमती, गण्डकी र कोशी प्रदेशमा डेंगु सङ्क्रमण बढी पुष्टि भएको छ ।
ईडीसीडीका गएको पुस महिना यता बागमतीमा ३८६ वटा डेंगुको केस पुष्टि भइसकेको छ । त्यस्तै गण्डकीमा ३२२, कोशीमा ३१४, लुम्बिनीमा २६३, सुदूरपश्चिम २२६, कर्णालीमा ३४ र मधेसमा २५ वटा केस पुष्टि भएको छ । बर्षा लागे सँगै क्रमशः डेंगुका केस बढ्दै जान थालेका हुन् ।
‘वार्निङ साइन’ देखिए सजक हौ
पछिल्लो समय डेंगुको केस बढे पनि सामान्य रूपमा लिने गरिएकाले पछुताउनुपर्ने स्थिति आउन सक्ने सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् । अहिल्यैबाट सावधानी अपनाउनुको विकल्प नभएको उनको भनाइ छ ।
डेंगु संक्रमण पुष्टि भई सामान्य रूपमा लिदा स्वास्थ्यमा जटिलता आउन सक्ने भएकाले आराम गरी चिकित्सकको सल्लाहमा औषधि सेवन गर्न उनको सुझाव छ । उनका अनुसार डेंगुको ‘वार्निङ साइन’ देखिँदा वेलैमा सचेत हुनुपर्छ । डेंगु हुँदा केहीलाई तारन्तार बान्ता हुने, नाक अथवा गिजाबाट रगत आउने, पेट दुख्ने र बढी आलस्य हुने देखिने भएकाले यस्तो वेला आराम गर्न उनको सुझाव छ । डेंगुका यी चार ‘वार्निङ साइन’ बारे अब बहस गर्न आवश्यक भइसकेको उनले सुनाए ।
उनी भन्छन्, ‘डेंगु पुष्टि भएपछि बिरामीको पेट वा छातीमा पानी जम्ने, कलेजोको आकार बढ्ने र रगतमा प्लेटलेट्को संख्या तीव्र गतिमा घट्ने देखिन्छ, यसलाई जटिल मान्नुपर्छ ।’
‘सेरोटाइप’
ईडीसीडीका निर्देशक डा. चन्द्रभाल झाका अनुसार नेपालमा हालसम्म डेंगुका ४ वटा ‘सेरोटाइप’ पुष्टि भएका छन् । उनका अनुसार संक्रमितहरूमा ‘सेरोटाइप’ का १, २, ३ प्रकार बढी देखिएका छन् । त्यस्तै सबैभन्दा बढी प्रकार ‘३’ देखिएको छ ।
बर्षा लागेसँगै कीटजन्य रोग बढ्न नदिनका लागि सबै जना सचेत हुन आवश्यक रहेको निर्देशक झाले सुझाव दिए । डेंगुको केस बढ्न नदिन स्थानीय तहहरूसँग समन्वय गरिएको डा झाले जानकारी दिए ।
यसरी अपनाऔं सजकता
ईडीसीडीका निर्देशक झाले कीटजन्य रोग रोकथामका लागि यस आर्थिक वर्षमा केन्द्रबाट ८ करोड रुपैयाँ स्थानीय तहका लागि विनियोजन गरिएको बताए । डेंगु संक्रमण बढ्न नदिका लागि केन्द्र, प्रदेश र स्थानीय तहसँग ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिइएको बताए ।
उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार मनसुनसँगै भित्रिने यस्ता रोग फैलिन नदिन हरेक जिल्ला, पालिका र त्यसभन्दा तल्लो तहमा संक्रमण रोगसम्बन्धी ‘रयापिड रेस्पोन्स’ टिमहरू तयारी अवस्थामा राखिएका छन् ।
डेंगुका केस बढ्न नदिन सरकारको एक्लो प्रयासले मात्रै नभएर जनप्रतिनिधि र जनताको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।
डा. झाका अनुसार पानी पर्ने एकदुई दिन रोकिने भइरहेको छ । जसले खाडल अनि छत तथा घरबाहिर राखिएका भाँडाहरूमा पानी जम्ने हुँदा त्यहाँ लामखुट्टेका लार्भा बढ्न सक्छन् । त्यसरी पानी जम्नेको स्थानमा एडिज, एडिस एजिप्टी, एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले फुल पार्छन् । सो फुल लार्भा बन्छ र सोही लार्भा वयस्क भई भएपछि टोक्ने गर्छ । यसैले डेंगु बनाउने लामखुट्टेको दर बढ्न सक्ने भएकाले घर वा वरिपरि सफा राख्न उनले आग्रह गरे ।
(रातोपाटी सहित विभिन्न अनलाइनको सहयोगमा तराई टप ले तयार पारेको समाचार)