रौतहट, १५ असार । नेपाल किसान महासंघ रौतहटको आयोजनामा आईतवार धान रोपाई राष्ट्रिय दिवसको कार्यक्रम सफलतापूर्वक मनाएका छन् ।
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यमा राष्ट्रिय धान रोपाई दिवस सफलतापूर्वक मनाइएका हुन् ।
“कार्यक्रम आफ्नो देशको उत्पादन हाम्रो शान, कृषिमा उन्नति हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली कांग्रेस नगर समिति गौरको समन्वयमा गौर–४ सोबर्नामाई स्थित आयोजित कार्यक्रममा धानको रोपाई गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले नेपाली कांग्रेस पार्टी किसानको हक अधिकारका लागि सधैँ आवाज उठाउँदै आएको र किसानका दुःख–पीडा समाप्त गर्न दीर्घकालीन सोचका साथ अगाडि बढिरहेको स्पष्ट पार्दै समयमा किसानहरूलाई मलखाद्य उपलब्ध गराउन सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।
पूर्व मन्त्री समेत रहेका नेता यादवले जलवायुमैत्री प्रविधि, आधुनिक कृषि खेतीको अनुसन्धान, विकास र प्रवद्र्धन मार्फत धान, मकै लगायतका बालीको उत्पादन बढाउन मधेस सरकारले ठोस कदम चाल्नुपर्नेमा बताए । उनले यसका लागि आफूहरू साथ दिन तयार रहेको पनि स्पष्ट पारे ।
प्रदेशमा आफ्नै पार्टीको कृषि मन्त्री भएको र आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल र सिँचाइ सुविधाको सहज पहुँच मार्फत कृषकको जीवनस्तर उकास्ने लक्ष्य अनुरूप आवश्यक नीति तथा कार्यक्रमहरू समावेश गरिएको बताए । उनले धान दिवस, असार १५ को अवसरमा सम्पूर्ण किसान दाजुभाइ तथा दिदी–बहिनीलाई शुभकामना पनि दिए ।
मधेस प्रदेश सरकारलाई शतप्रतिशत बजेट विनियोजन गर्न आवश्यक पहल गर्ने बताए । उनले आफू किसानको समस्यासँग परिचित रहेको र त्यसलाई समाधान गर्न गम्भीर रहेको बताए ।
सो कार्यक्रममा मधेश प्रदेश सरकारमा अर्थ मन्त्री रहेका सुनिलकुमार यादव, प्रदेश साँसद नागेन्द्र साह, मिथलेश मिश्र, नगर सभापति मोहन यादव लगायतका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।