सर्लाही, १८ असार । गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले पत्रकारिता क्षेत्रलाई व्यवस्थित एवं मर्यादित भएमा मात्रै मधेश प्रदेशमा विकासको अनुभुति हुने बताए ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वयमा मिडिया काउन्सिल मधेश प्रदेशद्वारा बुधवार मलंगवामा आयोजित “पत्रकार आचार संहिता सम्बन्धी गोष्ठी” मन्त्री लेखीले उक्त कुरा बताएका हुन् ।
मधेश प्रदेशमा पत्रकारिता क्षेत्रमा देखिदै गएको विचलनलाई निर्मुल पार्न मिडिया काउन्सिलको भुमिका निकै महत्वपूर्ण रहेको हुँदा पत्रकारहरुलाई संयमित भई सत्य, निष्पक्ष, एवं विना स्वार्थ रुपमा कलम चलाउन पत्रकार आचार संहिता सम्बन्धी तालिम दिनुपर्नेमा जोड दिदै उनले पत्रकारिता क्षेत्र एउटा यस्तो स्तम्भ हो, जसले समाज परिवर्तनमा निकै अहम भुमिका निर्वाह गर्दछ, त्यसै हुनाले पत्रकारलाई समाजको आइना भनिन्छ ।
अहिले केही व्यक्तिहरुको कारण सिंग पत्रकारिता क्षेत्र माथि प्रश्न उठिरहदा मिडिया काउन्सिलले संचालनमा ल्याएको आचार संहिता सम्बन्धी जनचेतना मुलुक तालिमबाट सकारात्मक प्रभाव पर्ने र सुधार आउने विश्वास मन्त्री लेखीले व्यक्त गरे ।
पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिदै पत्रकार बीमा योजना, महासंघ भवन निर्माण, उत्कृष्ट पत्रकार सम्मान गर्ने जस्ता कार्यक्रम प्रदेश सरकारले ल्याएर कार्यान्वयन गरिरहेको स्पष्ट पारे ।
मलंगवा स्थित होटल सुजातामा सम्पन्न उक्त गोष्ठीको अध्यक्षता मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले गरेका थिए भने कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मधेस प्रदेश सांसद जंगिलाल राय, मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह, आम संचार प्राधिकरण जनकपुरधामका अध्यक्ष जितेन्द्र खड्का, चलचित्र तथा लोक संचार प्रवद्र्धन परिषद्का अध्यक्ष किशोर कुमार लेखी, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर, मिडिया काउन्सिलको सदस्य बन्दना झा, एमाले सर्लाही अध्यक्ष राजनारायण साह, मिडिया काउन्सिलका प्रशासकीय प्रमुख टेक विक्रम साह, सञ्चारकर्मीहरु उपस्थिति रहेको थियो ।