रौतहट, १९ असार । ठगी गरेको आरोपमा न्यायालयबाट पक्राउ पुर्जी जारी भएपनि आखिर प्रहरीले किन ? समात्दैनन मानिसलाई अहिले सर्वत्र चासोको बिषय बनेका छन् ।
ठगीको आरोपमा रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको लगभग एक महिना समय बित्न लाग्दा काठमाडौं डिल्लाबजार अन्तर्गत पर्ने टोखा टोलीका प्रमुख सञ्जय साहलाई प्रहरीले अहिले सम्म पक्राउ नगर्दा प्रहरी माथिको विश्वास धरमराउन थालेका हुन् ।
इलाका प्रहरी गरुडाले अदालतबाट ठगी मुद्दा दर्ता गरेर साहको नाममा गत जेठ १३ गते रौतहट जिल्ला अदालतबाट पक्राउ पुर्जी भई जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्र पठाइए पनि पक्राउ परेको छैनन् ।
ठगी आरोपमै प्रहरीले नापी प्रमुख साह, दुर्गाभगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुण साह, काठमाडौं नागार्जुन–४ का विमलादेवी श्रेष्ठ र छोरा धीरज श्रेष्ठविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको इलाका प्रहरी गरुडाका डीएसपी राजन कार्कीले बताए ।
गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरीले जग्गा सम्बन्धी कारोबारमा रकम ठगी गरेको आरोपमा उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
नेपाल प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरले नापी प्रमुख साह अहिलेसम्म पक्राउ नपर्नुको कारण काठमाडौं प्रहरी परिसरमा बुझ्ने बताए ।
पक्राउ पुर्जी पाएर पनि जिल्ला प्रहरी परिसर काठमाडौं चुप बसेको पीडित चौधरीले गुनासो गरे ।
जग्गा बैना गरेर खरिद, बिक्रीमा टोखा नापी प्रमुख साह सहितका मानिस जोडिएपछि गरुडा प्रहरीले ठगी मुद्दा दर्ता गरी अदालतबाट पक्राउ पुर्जी लिएको थियो । पीडित चौधरीले जग्गा खरिद गर्न १ करोड १० लाख पैसा जम्मा गरेको प्रमाण प्रहरीसमक्ष पेस गरेका छन् । जग्गा खरिद बिक्रीमा बदनियत देखिएकाले ठगीमा अनुसन्धान अघि बढाएको डिएसपी कार्कीले भने ।
टोखा नापीका प्रमुख साह असार १५ सम्म बिदामा बसेको थिए । नापी कार्यालय डिल्लीबजारका निमित्त प्रमुख प्रकाश ओलीले टोखा प्रमुख साहको बिदा सकिए पनि उनी सम्पर्कमा नआएको बताए । ‘१५ दिनको बिदा सकिए पनि साह सम्पर्कमा आएको छैनन्,’ उनले भने ।
दुर्गा भगवतीका पूर्वअध्यक्ष साहले १० लाख मेरै खातामा आएपनि उक्त रकम पीडित पक्षलाई फिर्ता गरिसकेको प्रहरीले जनाएको छ ।
रौतहटकै चन्द्रपुरस्थित नापी कार्यालयमा २०७८ मा प्रमुख हुँदा अकुत सम्पत्ति कमाएको आरोप नापी प्रमुख साहमाथि लागेको थियो । तर त्यसमा अनुसन्धान भएको छैन । त्यसैबेला नापी प्रमुख साह र चौधरीबीच व्यवसायीक रुपमा चिनजान भएको श्रोतले बतायो ।
काठमाडौंको नागार्जुन–४ का विमलादेवी श्रेष्ठको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जमिन संयुक्त लगानीमा खरिद गर्ने सहमति भएको चौधरीले सुनाए ।
सुरुमा चौधरीले १ करोड १० लाख बैना गरेका थिए । रजिस्ट्रेसन पास गराउन पैसा अपुग भएपछि प्रमुख साहले लगानी गरी आफ्नो नाममा जग्गा ल्याएका थिए । उनका अनुसार २ करोड मूल्यमा उक्त जमिन किनबेच भएको थियो ।
उक्त जमिन प्रमुख साहले साझेदार भनिएका चौधरीलाई थाहै नदिई ०८०÷०८१ मा चार कित्ता बनाई चार जनालाई बिक्री गरेपछि ठगीको आरोप सम्बन्धी जाहेरी इलाका प्रहरी कार्यालय गरुडामा परे ।
प्रहरीले जग्गाधनी विमला श्रेष्ठको मृत्यु भइसकेको जानकारी प्राप्त भएपछि छोरा धीरजलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडेको बताइएको छ । पीडित पक्षले नापी प्रमुख साहविरुद्ध सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचार सम्बन्धी थप अनुसन्धान र कारवाहीको माग गरे ।