सर्लाही, ३० असार । सर्लाहीको इश्वरपुर नगरपालिका स्थित रेल्वे ट्रयाक चौकमा पिकअप भ्यान र मोटरसाइकल एक आपसमा जुधेर आगलागि हुँदा पाँच जना घाइते भएको मध्ये एक सेनाका सीपाही जलेर गम्भीर घाइते भएका छन् ।
इश्वरपुर नगरपालिका–१२ र १३ को सीमानामा पर्ने बाँके चो देखि दक्षिणमा रहेको रेल्वे ट्रयाक चोक स्थित श्रीनगर–वाँके सडक खण्डमा सोमवार विहान १०.५० बजेको समयमा बाँके चौक तर्फ जाँदै गरेका प्र.०३–०२८ प २१९१ नम्वरको मोटरसाइकल र विपरित दशाबाट आउदै गरेका बा ८ च ६५ नम्वरको पिकअप भ्यान एक आपसमा ठोक्किएर दुर्घटना हुँदा आगलागि भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
दुबै सवारी ठोक्किएर आगलागि हुँदा मोटरसाइकल चालक सर्लाही इश्वरपुर नपा–१५ का भागेश्वर धामीको २३ बर्षीय छोरा चन्द्रदेव धामी (नेपाली सेनाको भगवती दल गण इटहरीमा कार्यरत सिपाही रहेको) खुट्टा, हात र अनुहार गरेर शरिरको ८५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएपछि उनको अहिले लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार भईरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
डिएसपी राईका अनुसार नेपाली सेनाको सिपाही धामीको अवस्था अत्यन्तै गम्भीर रहेको हुँदा निजलाई सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौं लगिने जानकारी प्राप्त भएको छ ।
यसैगरी मोटरसाइकलमा पछाडी सवार अर्का सोही स्थानका जगरनाथ चौधरीको २२ बर्षीय छोरा (नं. २ विपद व्यवस्थापन गण रसौली चितवन दरवन्दी भई हाल मध्य पश्चिम पृतना बटवलमा काजमा कार्यरत सिपाही) २२ बर्षीय प्रशेस चौधरी टाउको र हातमा चोट लागेर सामान्य घाइते भएको तथा सोही मोटरसाइकलमा सवार अर्का राजदेव चौधरीको २१ बर्षीय छोरा अमित चौधरी पनि सामान्य घाइते भएको डिएसपी राईले बताए ।
पिकअप चालक हरिवन नगरपालिका–३ डाबरीका ४० बर्षीय रामएकबाल महतोको दुबै हात, खुट्टामा चोट लागेको, पिकअपमा पछाडी बसेका हरिवन नपा–२ का ६५ बर्षीय लेखनाथ उपाध्यायको टाउको सहित शरिरको विभिन्न भागमा चोट लागेको हुँदा निजहरुको उपचार लालबन्दीकै मेडेल अस्पतालमा उपचार भईरहेको जानकारी दिए ।
दुर्घटनामा परेर मोटरसाइकल पूर्ण रुपमा जलेको तथा पिकअप आधा जलेर नष्ट भएको जानकारी दिदै डिएसपी राईले घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।