रौतहट, ११ साउन । आर्थिक अनियमितता गर्ने, भ्रष्टाचार गर्नेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेर कारवाही गर्ने निकायका प्रमुख विरुद्ध नै अख्तियारमा कारवाहीको लागि उजुरी परेका छन् ।
सिन्धुलीका युवराज पौडेल (सफल) ले आईतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई विरुद्ध अख्तियारमै उजुरी दर्ता गराएका हुन् ।
प्रमुख राई विरुद्ध वाइडबडी जहाज खरिदमा घोटाला, नेपाल आयल निगमको जग्गा खरिदमा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका गम्भीर प्रकृतिको घोटालामा मुछिएको भन्दै आवश्यक छानविन गरेर कारवाही गर्न दर्ता गराइएको उजुरीमा उल्लेख गरिएको छ ।
“२०८१ मंसिर २० गतेका दिन मुद्दा नं. ०८० सीआर ०१४५ माथि अन्तिम सुनुवाइ सम्पन्न गरी सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेम कुमार राई माथि मुद्दा नचलाएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको छ । त्यस्तै पूर्णपाठमा यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई अभियोजन गर्ने जस्तो चयनमुखी अभियोजन गर्नु समान न्यायको सिद्धान्त विरुद्ध हुन्छ यस्तो कार्यले कानुन सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुर्याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ भनी विशेष अदालतको फैसलामा उल्लेख छ” सफलले दायर गरेको उजुरीमा भनिएको हो ।
यस्तै अख्तियार प्रमुख राई पूर्व आपूर्ति सचिव हुँदा नेपाल आयल निगमको जग्गा खरिद अनियमिततामा समेत मुछिएको उजुरीमा दाबी गरिएको छ । “राई आपूर्ति सचिव हुँदा निगमले भैरहवा, चितवन, सर्लाही, झापा लगायतका जिल्लाहरूमा डेढ अर्बभन्दा बढीको जग्गा खरिद गरेको थियो । उक्त जग्गा खरिदका लागि निर्णय गर्ने सञ्चालक समितिका अध्यक्ष प्रेम कुमार राई नै थिए । अतः सो आयल निगमको जग्गा खरिद प्रकरणमा करोडौं रुपैयाँ अनियमितता भएको भनी जग्गा खरिद निर्णय कार्यान्वयन गर्ने तत्कालीन आयल निगम कार्यकारी निर्देशक गोपाल बहादुर खड्कामाथि मुद्दा चलाइए पनि जग्गा खरिद गर्ने निर्णय गर्ने राई माथि भने कुनै मुद्दा समेत चलाइएन” ।
“कोरोना महामारीको बेलामा राई जोडिएको आयल निगम जग्गा प्रकरण सम्बन्धी मुद्दा हतार हतार तामेलीमा राखिएको छ । अतः तत्काल अख्तियार प्रमुख राई मुछिएका तामेलीमा राखेको मुद्दा जगाई निज विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गर्न प्रस्तुत उजुरी पेस गरेको छु” उजुरी भनिएको छ ।
अदालतले समेत मुद्दा चल्न पर्ने भनी घुमाउरो हिसाबमा दोषी देखाएको भन्दै राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न उजुरी मार्फत राईको ध्यानाकर्षण गराइएको विभिन्न मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।