कोभिडको कारण बन्द रहेको दिल्ली–काठमाडौं मैत्री बस सेवा पुन ः संचालनमा

तराई टप
नयाँदिल्ली, २ पुस । नेपाल भारत मित्रता सम्बन्ध अन्तर्गत दिल्ली–काठमाडौं बस सेवा गत बुधबार देखि पुन ः सञ्चालनमा आएको छ ।
दिल्ली सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (डीटीसी) ले बुधबारबाट सेवा पुन ः सुरु गरेको हो । कोभिड–१९ का कारण २३ मार्च २०२० देखि दुबै देश विच बस सेवा बन्द भएको थियो ।
दिल्ली–काठमाडौं मैत्री बस सेवा सन् २०१४ को नोभेम्बर २५ बाट सुरु भएका थिए । कोभिडका कारण बन्द रहेको बस सेवा पुनः सञ्चालनमा आएपछि सतह मार्गबाट आवतजावत गर्ने उपभोक्ताहरुलाई राहत पुगेको छ । दिल्लीको अम्बेडकर स्टेडियम बस टर्मिनलबाट बुधबार बिहान ११ बजे डीटीसीको बस काठमाडौंका लागि छुटेका थिए ।
नेपाल र भारत दुवै सरकारको संयुक्त पहलमा दिल्ली–काठमाडौं–दिल्ली बस सेवा सञ्चालन गरिएको हो । नेपालका तर्फबाट मञ्जुश्री यातायातले तीन दिन तथा भारतका तर्फबाट दिल्ली सरकारको डीटीसीले तीन दिन बस चलाउने गरेको छ । आइतबार बाहेक साताका सबै दिन दुवै तिरबाट बस खुल्ने गरेको मञ्जुश्री यातायातका दिल्ली म्यानेजर राम पौडेलले बताए ।
भारत सरकारका तर्फबाट बुधबारबाट मात्रै बस सञ्चालनमा ल्याइए पनि मञ्जुश्री यातायातले भने एक महिना अगाडिबाटै बस सञ्चालनमा ल्याइसकेको थियो । मञ्जुश्रीले सातामा तीन दिन चलाइरहेको थियो । अब डीटीसीले बाँकी तीन दिन चलाउने भएको छ । डीटीसीले दिल्लीबाट सोमबार, बुधबार र शुक्रबार तथा काठमाडौंबाट मंगलबार, बिहीबार र शनिबार बस चलाउने छ ।