काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन भदौ १४ गते चीन प्रस्थान गर्ने भएका छन् ।
बेइजिङमा भदौ १५ र १६ गतेमा आयोजना हुने उक्त सम्मेलनमा नेपालले पहिलोपटक उच्चस्तरीय सहभागिता जनाउन लागेका हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार, यो भ्रमणबाट नेपालको कूटनीतिक पहुँच र क्षेत्रीय सहकार्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
सम्मेलनको उदघाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित विभिन्न देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरूको सहभागिता रहने यो शिखर सम्मेलनमा राजनीति, अर्थतन्त्र र क्षेत्रीय सुरक्षाका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । यस्ता भेटघाटबाट नेपाल–चीन र नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
शांघाई सहयोग संगठन (एससीओ) को स्थापना सन् २००१ मा क्षेत्रीय स्थिरता र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले भएको थियो । हाल यस संगठनमा चीन, भारत, रुस, पाकिस्तान, इरान, बेलारुस, काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० देश सदस्य छन् ।
नेपाल सन् २०१६ देखि एससीओको संवाद साझेदार (डायलग पार्टनर) को रूपमा सहभागी हुँदै आएको छ । यसअघि नेपालबाट राजदूतस्तरमा सहभागिता हुने गरेकोमा पहिलोपटक प्रधानमन्त्रीस्तरको सहभागिता हुन लागेको हो, जसलाई नेपाली कूटनीतिका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री ओलीको यो भ्रमणलाई लिएर नेपाली राजनीतिमा उत्साह देखिएको छ । “प्रधानमन्त्रीको यो भ्रमणले नेपालको अन्तर्राष्ट्रिय उपस्थितिलाई बलियो बनाउनेछ । क्षेत्रीय र विश्व मञ्चमा नेपालको भूमिका विस्तार गर्न यो अवसर महत्वपूर्ण छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने । उनले भ्रमणको औपचारिक विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिए ।
सम्मेलनमा क्षेत्रीय सुरक्षा, आर्थिक सहकार्य, व्यापार, लगानी र आतंकवादविरुद्धको संयुक्त प्रयासजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ । नेपालले आफ्नो संवाद साझेदारको भूमिकालाई प्रभावकारी बनाउँदै क्षेत्रीय स्थायित्व र विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।
चिन भ्रमणपछि प्रधानमन्त्री ओलीले भदौ अन्तिम साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमण गर्ने तयारी समेत गरेका छन् । दुवै भ्रमणले नेपालको कूटनीतिक सम्बन्ध र क्षेत्रीय प्रभावलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।