वीरगन्ज, २९ साउन । नेपालस्थित भारतीय दूतावास र भारतीय महावाणिज्य दूतावास, वीरगन्जले अगस्ट १३, २०२५ मा वीरगन्जको टाउन हलमा प्रख्यात कलाकार कलामण्डलम रामनकुट्टी र उनको समूहद्वारा प्रस्तुत मनमोहक कथकली नृत्य कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
सम्पन्न कार्यक्रमले भारतको समृद्ध सांस्कृतिक सम्पदा र नेपाल–भारत बीचको साझा सांस्कृतिक सम्बन्धलाई उजागर गरेको हो ।
कार्यक्रममा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवाल, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्सा र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकहरू, राजनीतिक दलका प्रतिनिधि, कलाप्रेमी, विद्यार्थी र स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो । कथकलीको प्राचीन कला विधा मार्फत प्रस्तुत पौराणिक कथाहरूले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो ।
कलामण्डलम रामनकुट्टी र उनको समूहको उत्कृष्ट र ऊर्जावान प्रस्तुतिले मञ्चमा पौराणिक कथाहरूलाई जीवन्त बनाएको आभास भईरहेका थिए । नृत्यको सटीकता, रंगीन पोशाक र गहिरो भावभङ्गिमाले दर्शकहरूलाई भारतीय कला र संस्कृतिको गहिराइमा डुबाएको महसुस भए । उक्त कार्यक्रमले नेपाल र भारतबीचको सांस्कृतिक समानता र दिगो सम्बन्धलाई प्रस्ट्याउँदै दुई देशबीचको सांस्कृतिक सेतुको रूपमा स्थापित गरेको छ ।
मन्त्री प्रमोद जैसवालले नेपाल र भारतको साझा सांस्कृतिक सम्पदाको महत्व माथि प्रकाश पार्दै यस्ता कार्यक्रमले दुई देशको सम्बन्धलाई थप मजबुत बनाएको बताए ।
भारतीय महावाणिज्य दूतावासका कन्सुल जनरल डिएस मिनाले नेपाल र भारतबीचको सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्धको ऐतिहासिक गहिराइलाई उजागर गर्दै कलामण्डलम रामनकुट्टी र उनको टोलीको मनमोहक प्रस्तुतिका लागि कृतज्ञता व्यक्त गरे । उनले दर्शकहरूको उत्साह र सहभागिताको समेत प्रशंसा गरे ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले यस्ता सांस्कृतिक कार्यक्रमले स्थानीय समुदायमा कला र संस्कृतिप्रति रुचि बढाउनुका साथै दुई देशबीचको मित्रतालाई प्रगाढ बनाउने बताए । उनले वीरगन्जलाई यस्ता सांस्कृतिक आदानप्रदानको केन्द्र बनाउन थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रमले नेपाल र भारतबीचको सांस्कृतिक एकताको सन्देशलाई थप बलियो बनाउँदै दुवै देशका नागरिकहरूमा सकारात्मक प्रभाव छोडेको छ ।