टि–२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता पहिलो पटक रौतहटको चेली राउत सहभागी

   २ पुष २०७८, शुक्रबार १६:४९  

तराई टप
रौतहट, २ पुस । प्रधानमन्त्री कप टि–२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शनिवार देखि सुरु हुने खेलमा रौतहटको चेलीले स्थान पाएको छ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप टि–२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा रौतहटको गौरकी एक खेलाडीले स्थान पाएपछि रौतहटबासीमा खुशीयाली छाएको हो ।
प्रदेश २ क्रिकेट संघले जारी गरेको खेलाडीहरुको सूचिमा गौर २ कि मधु राउतले स्थान पाएकी छिन् । यस अघि प्रदेश क्रिकेट संघले जारी गरेको बन्द प्रशिक्षणको सूचिमा पहिलो पटक रौतहटका दुई खेलाडीले स्थान बनाउन सफल भएको थिए । रौतहटबाट पहिलो पटक सहभागी भएकी गौर २ कि मधु राउत राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो महिला खेलाडी समेत बनेकी छिन ।
राउत बन्द प्रशिक्षण पछि आजै धनगढी जादैछिन । सप्तरीको राजबिराजमा भएको ३ दिनको बन्द प्रशिक्षण पछि प्रदेश २ को खेलाडी टोली धनगढी जान लागेको बताइएको छ ।
प्रदेशको महिला क्रिकेट टिममा सरस्वती चौधरी, अलिशा यादव, श्रृजना चौधरी, अनुराधा चौधरी, प्रियंका गुप्ता, मधु राउत, सन्तोषि चौधरी, मेलिना रायमाझी, आरती चौधरी, गोमा आले, विमला मगर, प्रतिमा साह, रोजि कडारी र साना प्रविण रहेकी छिन
यस्तै पुष्पा फुयाल, सिवानी साह, मोनिका साह र मिना महतोलाई वैकल्पीक खेलाडीको रुपमा राखिएको छ । गौरको खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु सुखद अवसर रहेको बताउदै गौरका नगर प्रमुख अजय गुप्ताले गौर नगरपालिकाकी दुवै खेलाडीहरुलाई क्रिकेट किट दिने घोषणा गरे ।
सप्तरीको राजविराजमा भएको छनौट प्रतियोगिताबाट प्रदेश २ का लागि छानिएका खेलाडीहरुको “क्लोज क्याम्प” आज सकिएको र प्रतियोगितामा पौष ५ गते प्रदेश २ ले सशस्त्र प्रहरीको टोली विरुद्ध खेल्ने क्रिकेट संघ प्रदेश २ ले जनाएको छ । क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार धनगढीमा हुने प्रतियोगिताको उद्घाटन खेल साविक विजेता प्रदेश नम्बर १ र कर्णाली प्रदेश बीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा नेपालको सात प्रदेश र विभागीय टोली एपीएफ गरी ८ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा प्रदेश १, लुम्बिनी, बागमती र कर्णाली छन् । यसैगरी समूह बी मा एपीएफ, सुदूरपश्चिम, गण्डकी र प्रदेश २ रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै