सडक ऐन अनुसार सवारी चलाउन, अव्यवस्थित रुपमा राजमार्गमा पाकिंग गरिने सवारी साधनको अंकुश लगाउने, व्यवस्थित रुपमा सवारी साधन गुडाउने कार्यमा ट्राफिक प्रहरीको महत्वपूर्ण भुमिका रहने गर्दछ तर मधेशमा रहेका ट्राफिक प्रहरी प्रमुखको लिला फरक रहेको पाइएका छन् ।
राजमार्गमा सुरक्षा तथा अनावश्यक जाम हुने समस्यालाई समाधान गर्ने हेतु समुचित रुपमा ट्रफिक व्यवस्थापनको जिम्मेवारी पाएका पथलैया स्थित कार्यालयले प्रदेशभरी घुमुवा परिचालन गरेर अबैध असुली कार्यलाई निर्वाध रुपमा जारी राखेका हुन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले करिव ७–८ जना भन्दा बढि घुमुवा परिचालन गरेर विभिन्न उद्योग र यातायात व्यवसायी संघ, ट्रान्सपोर्ट, चुरे माफिया, नदीजन्य पदार्थको दोहन, इटा व्यवसायी, पशुचौपाया भैसी, रागा, गाई गोरु सहितका कार्यमा खटाएर अबैध असुली गराउदै आएको तथ्य बाहिरिदा ट्राफिक प्रहरी प्रमुखको आलोचना भईरहेको छ ।
नियमविपरीत मालसामान ढुवानीमा ट्राफिक प्रहरी पथलैयाले सहयोग गरेवापत दैनिक लाखौँ रुपैया कमिसन पाउने गरेको छ । मधेश प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपि राजकुमार सिलवालले घुमुवा प्रहरीमार्फत दैनिक लाखौँ रुपैया अवैध रुपमा उठाउने गरेको श्रोतलेब बतायो ।
एसपि सिलवालले सहायक हवल्दार रवि राई, रोशन नाथ, नवराज बस्नेत, रमेश यादवलाई सिभिलमा घुमुवाको रुपमा परिचालित गरी वीरगंज भन्सार आइसिपि देखि अन्य क्षेत्र सम्मको जिम्मा दिएका छन् । ट्राफिक नियमको उल्लंघन गरी अवैध तरिकाले मालसामान ढुवानी गर्ने गराउने काममा सहयोग गर्न घुमुवा प्रहरीले साझै ढुवानीकर्ता तथा तस्करहरु सित मिलेर संगठित रुपमै अपराध गराउनमा मस्त रहेको गम्भीर आरोप लगाइएका छन् ।
घुमुवा प्रहरीले मालसामान ढुवानीमा सहयोग गर्न ढुवानी समूहसित मिलेर चार पाँच ओटा मोबाइलबाट एसएमएस मार्फत डिउटीमा रहेका ट्राफिक प्रहरीलाई नर्मल, ओभर लोड तथा लोकल र बाहिर भनी म्यासेज गर्ने र सबारी साधनलाई चेकजाँच नगर्ने गरेको सेटिङ मिलाउने गरेको बुझिएको छ ।
गाडीको सेटिङ हवलदार नवराज बस्नेतले नै जिम्मा लिएको र अधिकांश ढुवानीकर्ताको सोझो सम्बन्ध हवलदार बस्नेतसित रहेको छ । भानु तथा श्रवण गु्रपका संचालकले मात्र एसपि सिलवालसित कुरा गर्ने हैसियत राखेको र बाँकी करिब एक दर्जन ग्रुपले हवलदार बस्नेतमार्फत मात्र सेटिङ मिलाएर कारोबार गर्ने गरेको अत्यन्त विश्सनीय स्रोतको दाबी छ ।
अहिले भारतबाट आउने धान ओसार्न भानु, श्रवण, प्रदीप, कृष्णा, विजय तथा सुरेश ग्रुप सक्रिय रहेका छन् । यसै गरी फलफूल ओसार्न उदय, विशाल, नवल, रमेश ग्रुप सक्रिय रहेका छन् । धान र फलफूलमा दैनिक करिब २०० गाडी आइसिपि हुँदै वीरगंज–पथलैया सडक खण्डबाट बाहिरिने गरेको छ । नर्मल गाडीसित प्रति गाडी ५०० रुपैया र ओभर लोड गाडीसित प्रति गाडी २,००० रुपैया ट्राफिक प्रहरीले असुल्ने गरेको विश्वस्त स्रोतको दाबी छ ।
यसै गरी हार्डवेयर सामग्री ढुवानी गर्ने जगदम्बा ग्रुपको भारत रक्सौलका जय ठाकुर ग्रुप रहेको बुझिएको छ । पर्सा ट्राफिक प्रहरी प्रमुख सहित पथलैया ट्राफिक मुख्यालयका घुमुवाहरु सित ठाकुर ग्रुपको सिधा समन्वय हुने गरेको श्रोतले बतायो । हार्डवेयर सामग्री नर्मल लोड हुँदा प्रति गाडी १,००० रुपैया र ओभर लोड हुँदा प्रति गाडी ५,००० रुपैया ट्राफिक प्रहरीले असुल्ने गरेको पाइएको छ ।
शनिवार र आइतवार बाहेक हप्ताको ५ दिन दैनिक ३०० देखि ५०० जति मालवाहक गाडीहरु बाहिरिने गरेका छन् । मालबाहक गाडीहरुबाट दैनिक ट्राफिक प्रहरी पथलैयाले लाखौँ रुपैया अबैध असुली गरिरहेको छ ।
वीरगंज भन्सार आइसिपिबाट गाडी निस्कने बित्तिकै प्रहरीलाई ढुवानीकर्ताको म्यासेज जाने गरेको हुन्छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीले गोप्य रुपमा प्रयोग गर्ने ६ ओटा मोबाइल नम्बरमा म्यासेज पुग्ने गरेको हुन्छ । म्यासेजमा गाडी नम्बर, सामानको नामसहित लोड नर्मल तथा ओभर लोड भएको जानकारी हुने गरेको छ । यसै गरी गाडी कहाँसम्म पुग्ने भन्ने पनि उल्लेख गरिएको छ । ट्राफिक प्रहरीले बोक्ने गोप्य मोबाइलमा म्यासेज आएको गाडीलाई चेकजाँच नगर्ने तथा अन्य गाडीलाई मात्र डिउटीमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गर्ने गरेको छ ।
ट्राफिकको गोप्य मोबाइल नम्बरमा म्यासेज नआएको मालसामान भएको सबारी साधनलाई पथलैया ट्राफिक प्रहरी कार्यालय अगाडि निकै दुःख दिने गरिएको छ । सबै कागजपत्र र लोड दुरुस्त हुँदाहुँदै पनि शंका लाग्यो भन्दै बार्गेनिङ गर्ने र पैसा दिन नमानेपछि राजस्व कार्यालय पठाइदिने गरेको देखिएको छ । पथलैया ट्राफिकले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गर्दा बारा, पर्साका व्यापारी तथा उद्योगीहरु निकै समस्यामा परेका छन् ।
एसपि सिलवालविरुद्ध उजुरी र छानबिन
ट्राफिक प्रहरी प्रमुख एसपि सिलवाल विरुद्ध उजुरीको चाङ लागेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी प्रधान कार्यालय काठमाडौँमा पनि एसपि सिलवाल विरुद्ध उजुरी परेको हो । मालवाहक ट्रक, कन्टेनर, कलकारखाना र अन्य पीडितहरुले एसपि सिलवालविरुद्ध उजुरी दिएको स्रोतको दाबी छ । भारतीय सबारी साधनलाई एसपि सिलवालका विश्वासपात्रहरुले सताउने गरेको बुझिएको छ ।
भारत, उत्तर प्रदेश मथुराबाट नेपाल घुम्न आएका नरेश परिहार सित ट्राफिक कार्यालय पथलैयाले पैसा असुल गरेको छ । अहिले सम्म एसपि सिलवाल विरुद्ध ३० देखि ३५ ओटा उजुरी परेको प्रदेश प्रहरी कार्यालय जनकपुर स्रोतबाट बुझिएको छ ।
एसपि सिलवाल र ट्राफिक प्रहरी कार्यालय पथलैया विरुद्ध परेका उजुरीहरुको छानबिनको लागि तीन ओटा छानबिन समिति बनाइएको स्रोतले दाबी गरेको छ । एसएसपी कमल थापाको नेतृत्वमा एउटा र एसपी नारायण रंजितकारको नेतृत्वमा दुई ओटा छानबिन टोली बनाएर ट्राफिक एसपी सिलवाल र ट्राफिक प्रहरी कार्यालयबारे अनुसन्धान थालिएको स्रोतको दाबी छ । मधेश प्रदेश प्रहरी कार्यालयले ट्राफिक प्रहरी कार्यालय पथलैयाका घुमुवाहरुलाई तानिइसकेको बुझिएको छ ।
एसपि सिलवाल चढ्छन् चोरीको स्कारपियो
अरुको सबारी चालक अनुमतिपत्र, सबारीको रुट परमिट, अनेक किसिमका कागजपत्र खोज्ने ट्राफिक प्रहरीको प्रदेश प्रमुख नै चोरीको गाडी चढ्छन् । चोरीको सबारी साधन पक्राउ गरेपछि भन्सार बुझाउनु पर्ने कानुनी व्यवस्थालाई उलंघन गर्दै चोरीको गाडी नै चढेको पाइएको छ । प्र.०३ ०१–०२२ च ०९६८ नम्बरको स्कारपिओलाई समातेर एसपी सिलवाल चढ्ने गरेका छन् ।
पक्राउ परेको स्कारपिओ छानबिनको क्रममा रहेको र आफूले खासै प्रयोग नगरेको एसपी सिलवालले भने । एसपी सिलवालले आफू आएदेखि देशमा सबैभन्दा बढी सबारी साधनमाथि कारबाही गरेको, सबैभन्दा बढी राजस्व असुल गरेको र केन्द्रबाट प्रशंसा समेत पाइसकेको बताउँदै राम्रो काम गर्नेको प्रशंसा भएको बताए ।
ट्राफिक दुर्घटना भयावह
चालु आर्थिक वर्षको सुरुदेखि भदौ ५ गतेसम्म मधेश प्रदेशमा ४८ जनाले सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन् । यसै गरी १,२७८ जना सबारी दुर्घटनामा घाइते भएका छन् । प्रदेशमा ७८७ सबारी दुर्घटना भएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्याँकमा देखिएका छन् ।
ट्राफिक प्रहरीको रेकर्डमा देखिने गरी हरेक दिन २२ ओटा भन्दा बढी सबारी दुर्घटना भइरहँदा ट्राफिक प्रहरीको ध्यान भने राजस्व असुली तर्फ गएको देखिन्छ । सबारी दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम गर्नुभन्दा राजस्व तथा जरिवाना असुल उपर गरेर तथ्यांकमा देखिने काम गरेर वैधानिक कमिसन उठाउने कार्यमा लागिपरेको देखिन्छ ।
साउन १ देखि भदौ ६ सम्म मधेश प्रदेशका ट्राफिक प्रहरी कार्यालयहरुले १६,१४० सबारी साधनमाथि कारबाही गर्दै १ करोड ४२ लाख ९२ हजार राजस्व असुली गरेको देखिन्छ । ट्राफिक प्रहरीलाई मानिसको जीवनको मूल्य र अंगभंग तथा घाइते हुनुलाई नियन्त्रण गर्नुभन्दा कमाइ गर्ने बाटो अपनाउने गरेको आरोप लागेको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको प्रमुखमा एसपि राजकुमार सिलवाल आएपछि ट्राफिक प्रहरीको मनोबल निकै बढेको छ । ट्राफिक प्रहरी पैसा उठाउनमा केन्द्रित भएको देखिएको छ ।