रौतहट, २१ भदौं । दुर्गा भगवती गाउँपालिका वडा कार्यालय मत्सरीद्वारा “छोरी संरक्षण तथा छात्रवृति कार्यक्रम” अन्तर्गत अभिभावकलाई छोरीको संरक्षण छात्रवृत्रि प्रदान गरिएका छन् ।
दुर्गा भगवती गाउँपालिका–३ मत्सरी स्थित दुर्गा मन्दीरको हातामा रहेका सभाहलमा शनिवार वडा कार्यालयद्वारा “छोरी संरक्षण तथा छात्रवृति कार्यक्रम” को आयोजना गरेर अभिभावकहरुलाई छोरीको संरक्षण गर्न छात्रवृति प्रदान गरिएका हुन् ।
“छोरी संरक्षण तथा छात्रवृति कार्यक्रम” का प्रमुख अतिथि पूर्वमन्त्री, डिम्पल झा स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले छोरीको पक्षमा सधै वकालत गरिरहने दिवंगत डिम्पल झाको अथक प्रयासको फलस्वरुप नै मधेश प्रदेशमा छोरीको नाममा विभिन्न कार्यक्रमहरु संचालन रहेको चर्चा गरे ।
दिवंगत संविधान सभा सदस्य तथा मधेस प्रदेश सरकारका पुर्व मन्त्री डा. डिम्पल झाको स्मृतिमा घोषणा गरिएको छात्रवृती कार्यक्रम अत्यन्तै प्रेरणदायी रहेको चर्चा गर्दै नेता झाले केवल परिवार वा गाउँकै नेतृ मात्र नभई उनी मधेस प्रदेश र समाजप्रति समर्पित रहेकी थिइन् । उनको सक्रिय जीवनकालमा महिला अधिकार, शिक्षा र समाज तथा पुर्वाधार विकासका लागि पुर्याएको योगदानलाई सदैव सम्झिरहने उनले जिकिर गरे ।
यस किसिमका अभियानले विद्यार्थीलाई उत्कृष्ट नतिजा हासिल गर्न हौसला दिने मात्र होइन, आमाबाबुलाई छोरीलाई समान अवसर दिने सोच बनाउने प्रति सोचमा परिवर्तन ल्याउनमा मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।
दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का अध्यक्ष धर्मेन्द्र कुमार झाले “छोरी संरक्षण कार्यक्रमको घोषणा गरेका अनुसार शिक्षाको विभिन्न क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने किशोरीहरुलाई प्रोत्साहन स्वरुपमा विभिन्न किसिमका नगद पुरस्कार सहित वडा कार्यालयले सम्मान गर्दै आएको चर्चा समेत गरे ।
छोरी संरक्षण तथा छात्रवृत्ति कार्यक्रम पुर्व मन्त्री तथा समाजसेवी दिवंगत नेतृ डा.डिम्पल झाको योगदानलाई स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा आर्थिक वर्ष २०८१–०८२ मा वडा नं. ३ अन्तरगत जन्मिएका छोरीहरुको अभिभावकलाई पुर्व घोषित अनुसार नगद पाँच हजार सहित सम्मान गरिएको वडा अध्यक्ष झाले वितरण गरे ।
२०८१ साउन देखि लिएर २०८२ असार सम्म जन्मिएका ४५ जना छोरीको अभिभावकलाई जनही नगद पाँच हजार रुपैयाँका दरले संरक्षण पुरस्कारबाट प्रोत्साहित गरिएको बताए ।
कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने छोरीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री झाले नगद सहित सम्मानपत्रले सम्मान गरेका थिए ।
उच्च शिक्षा हासिल गर्न किशोरीहरुको मनोवल बढाउने उद्धेश्यले छात्रवृत्ति र सम्मानपत्र प्रदान गरिएको हो । यस वर्ष विविएमा पुर्ण छात्रवृती पाएकी ज्योती सर्राफलाई नगद २५ हजार सहित सम्मानपत्र, पहिलो पटक दलित समुदायबाट कक्षा १२ मा ३.४ जिपिए प्राप्त गरेकी निकी रामलाई र स्वास्थ्य वीमा अभिकर्ता अंशु मिश्रलाई जनही १५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा नेकपा एसका नेता रेवन्त झाले समाजमा शिक्षा र महिला सशक्तीकरणको माध्यमबाट सकारात्मक परिवर्तन सम्भव रहेको बताउदै समाजमा अझै छोरी जन्मेपछि उत्सव मनाउने संस्कृति पर्याप्त न रहेको जिकिर गरे । उनले यस्ता कार्यक्रमबाट छोरीलाई जन्म दिने आमालाई सम्मान र प्रोत्साहन दिएको छ, जुन कार्य साँच्चिकै ऐतिहासिक र अनुकरणीय रहेको बताए ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नविनकुमार श्रीवास्तवले छारी शिक्षा र संरक्षण नै समृद्ध समाजको मुल आधार रहेको बताउदै गाउँपालिकाले यस्ता कार्यक्रमलाई वडामा मात्र सिमित न गरेर पालिका स्तरीय गर्नु पर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा मैथिली ब्राह्मण समाजका कोषाध्यक्ष नवीन झा, समाजसेवी मनोज झा, वडा सदस्य धिरेन्द्र चौधरी, इश्वरवती देवी, सिंगो मत्सरी, पिपरा, भलोहिया समाजका युवा, अभिभावक, तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।