रौतहट, ५ असोज । रौतहटको नेपाल भारत सीमावर्ती क्षेत्र इशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा सहितको पिकअपलाई शनिवार राति नियन्त्रणमा लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, प्रहरी चौकी रामपुरखापबाट प्रहरी सहायक निरीक्षक अमोद सफीको कमाण्डमा खटिका गस्ती टोलीले इशनाथ नगरपालिका–८ मोतिपुर सडक खण्डमा गएराति ८ बजेको समयमा जटहरा तर्फ जाँदै गरेका प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप गाडीलाई रोक्न खोज्दा सडकमै रोकेर चालक फरार भए ।
उक्त पिकअपलाई प्रहरीले चेकजाँच गर्दा माथिबाट २० पोका काउली लोड भएपनि तल २६ पोका गाँजा जस्तै देखिने लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी राजु कार्कीले जानकारी दिए । उक्त लागुऔषध गाँजा जस्तै देखिने पदार्थको तौल गर्दा ३३४ किलोग्राम रहेको उनले भने ।
फरार भएका चालकको खोजी कार्य जारी रहेको बताउदै डिएसपी कार्कीले हालै सम्पन्न भएको आन्दोलनबाट प्रहरीको गतिविधिमा कमिआएको भन ठानेर लागुऔषधको कारोवार गर्नेहरु सलबलाउन थालेको हुँदा मतहतका युनिटहरुलाई शंकाष्पद सवारीसाधन वा कसैमाथि शंका लागेमा तुरुन्तै उच्च मनोबलका साथ चेक जाँच गर्न निर्देशन दिइएको परिणाम स्वरुप उक्त परिमाणमा लागुऔषध बरामद गर्न सफल भएको बताए ।
स्मरणीय छ, जेन जी आन्दोलनको कारण प्रहरीको उपस्थितमा कमि तथा मनोबल कम भएको फायदा उठाउदै लागुऔषधका कारोवारीहरु भारत तर्फ लगिरहेको अवस्थामा नेपालभारत सीमावर्ती क्षेत्रको १ किलोमिटर नेपाली क्षेत्रमा नियन्त्रणमा लिदा कारोवारीलाई ठूलो धक्का लागेका छन् ।
रामपुरखाप, मठिया, लतमरी, महुलिया लगायतका सीमावर्ती क्षेत्र भएर सजिलै संग भारत तर्फ लागुऔषधको तस्करी भइरहेको थिए । सोही अवसरलाई उठाउदै त्यस तर्फ लगिरहदा सेटिंग नहुँदा समातिएको श्रोतबाट बुझिएका छन् ।
यतिखेर मकवानपुरका विभिन्न क्षेत्रबाट तरकारी बोकेर आउने पिकअपमै त्यस्ता लागुऔषध ओसार्ने कार्य भईरहदा त्यस्ता पिकअपलाई सुक्ष्म चेकजाच गरेमा मात्रै यस्ता गतिविधिलाई नियमन गर्न सकिन्छ ।