रौतहट, ६ असोज । डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा नियुक्त गरिएको छ, जुन नेपालको स्वास्थ्य क्षेत्रका लागि एक ऐतिहासिक र आशावादी कदम मानिएको छ ।
स्वच्छ छवि, निडर र हक्की स्वभावकी डा. मिश्रा स्वास्थ्य सेवाको हरेक आयाममा गहिरो अनुभव र विशेषज्ञता बोकेकी व्यक्तित्वको रुपमा रहेकी हुन् । उनको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन र समयानुकूल सुधारको अपेक्षा गरिनुका साथै उनको नाम स्वास्थ्यमन्त्रीको रुपमा सिफारिस हुँदा आम जनतामा नयाँ आशा जगाएको बताइएको छ ।
डा. मिश्राले बिराटनगर अस्पताल र प्रसूति गृहको प्रमुख हुँदा उत्कृष्ट कार्य सम्पादन गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेकी छिन् । स्वास्थ्य सेवा विभागको महानिर्देशक (डी.जी.) हुँदा उनले उल्लेखनीय सुधारका कामहरू सम्पन्न गर्नु भएकी हुन् । स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा उल्लेख्य योगदान पुर्याउन हर सम्भव प्रयासमा उनको भुमिका महत्वपूर्ण रहेको बताइएको छ ।
उनको प्रशासनिक अनुभव, नीति निर्माणमा दक्षता र जनस्वास्थ्यप्रतिको प्रतिबद्धताले उनलाई यो जिम्मेवारीका लागि उपयुक्त उम्मेदवार बनाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रीको रूपमा सिफारिस गरे, र उनले सोही दिन स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । यो नियुक्तिलाई नेपालको स्वास्थ्य प्रणालीमा सुधार र नवप्रवर्तनका लागि महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।
विशेषगरी, नेपालको स्वास्थ्य क्षेत्रले सामना गरिरहेको दीर्घकालीन रोगहरू, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सीमितता, र गैरसङ्क्रामक रोगहरूको बढ्दो चुनौती जस्ता समस्याहरूलाई सम्बोधन गर्न उनको अनुभव र दृष्टिकोणले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
डा. मिश्राको नेतृत्वमा स्वास्थ्य मन्त्रालयले प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, र डिजिटल स्वास्थ्य सेवाको विस्तारमा जोड दिने सम्भावना छ । उनको नियुक्तिलाई सामाजिक सञ्जाल र जनस्तरमा समेत सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । जहाँ उनको स्वच्छ छवि र जनस्वास्थ्यप्रतिको समर्पणको प्रशंसा गरिदैछ ।
यसअघि डा. मिश्राले स्वास्थ्य सचिवको नियुक्तिमा भएको कथित भेदभावको विरोध गर्दै आफ्नो अडान राखेकी थिइन्, जसले उनको निडर र हक्की स्वभावलाई झल्काउँछ । उनको यो नियुक्तिले विशेषगरी मधेसी समुदाय र महिलाहरूलाई नेतृत्वमा समावेशीकरणको सन्देश पनि दिएको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा सुधारको यो ऐतिहासिक अवसरमा डा. मिश्राको नेतृत्वले जनस्वास्थ्य सेवालाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ । उनको कार्यकालमा स्वास्थ्य सेवालाई थप समावेशी, गुणस्तरीय र जनमुखी बनाउन सकिने अपेक्षा आम जनताले राखेका छन् ।