मधेश अझैपनि डुबिरहेको छ, केन्द्र सरकारका मन्त्रीहरु काठमाडौंमा मात्रै कुदिरहेका छन्ः आजपा अध्यक्ष साहको कटाक्ष
रौतहट, २२ असोज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बाढी र डुवानको मारमा परेको मधेशलाई केन्द्र सरकारले पूरै बेवास्ता गरेको भन्दै आलोचना गरेका छन् ।
सिंहदरबारमा सञ्चारकर्मीहरुसँग बुधवार संक्षिप्त कुराकानीमा उनले आफू भर्खरै मधेशबाट राजधानी फर्किएको उल्लेख गर्दै मधेश अझैपनि बाढी र डुबानको मार खेपिरहेको भएपनि केन्द्र सरकारको उपस्थिति नदेखिएको गुनासो गरेका हुन् ।
‘म अविरल वर्षा हुँदा गृहजिल्लामा थिएँ, मधेश पूरै बाढी, डुवान र कटानको मारमा छ, तर केन्द्र सरकार कतैपनि देखिएन । बरु स्थानीय सरकारको उपस्थिति देखियो, तर केन्द्र सरकारको कुनैपनि उपस्थिति देखिएन । म कुलमानजीलाई सोध्न चाहन्छु–के देश भनेको काठमाडौं महानगर मात्रै हो र ? यदि होईन भने तपाईंको निकाय किन मधेशमा बाढी, कटान र डुवानको मारमा खेपिरहदा देखापरेनन् ? उनले प्रश्न गरे ।’
उर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङलाई प्रश्न गरे, “मधेशमा नदीका बांधहरू भत्किरहदा तपाईको नदी नियन्त्रणको हाकिम किन देखा परेन, राजमार्गहरू भत्केर आवागमन अवरुद्ध हुदा सड़क बिभागका जिम्मेवार कर्मचारी किन आएनन, पुरै सहर दुवान हुदा शहरी बिभागको किन सक्रिय भएन ? के देश भनेको काठमाडौं महानगरमात्रै हो ? हैन भन्ने कुलमानजी तपाई एकपटक मधेश डुबेको हेर्न आऊनूस आजपा अध्यक्ष साले भने ।
तपाई जस्तो व्यक्तित्व सरकारमा सहभागी हुँदा जनताले उत्साह महशुस गरेको भएपनि अहिले विपद्को बेलामा काठमाडौं केन्द्रित मात्रै हुँदा धेरै जनताले विभेदको महसुस गरेको छ ।” उनले भने, ‘अविरल वर्षाको कारण सिंगो देश नै विपदा थियो, सरकार काठमाडौंमा मात्रै देखियो, देश भनेको काठमाडौं मात्रै होईन नि, आजपनि मधेश पूरै डुबानको मारमा छ, खानेपानीको समस्या छ, विजुली समस्या छ, शहरहरु जलमग्न छन् । पानीको निकास छैन । मधेशको मुख्य मुख्य शहरहरु अहिलेपनि डुवानमा छन् । यस्तो बेलामा सरकार देखिनुपर्ने होईन ? खोई तपाईंहरुको उपस्थिति ?’
बाढीको कारण मधेशमा बाँध भत्किएको, कयौं बाटो÷घाटो भत्काएको अवस्था हुँदापनि सरकार नदेखिनु मधेशलाई बेवास्ता गर्नु भएको टिप्पणी गरे । मन्त्री घिसिङ नेतृत्वका मन्त्रालयहरु नै प्रत्यक्ष सरोकार राख्ने भएकोले विपद्को बेलामा जनताले साथ खोजेको भएपनि केन्द्र सरकारको उपस्थिति नदेखेपछि जनतामा एक किसिमको आक्रोश उत्पन्न भईरहेको अध्यक्ष साहले बताए । प्राकृतिक विपत्तिको सबै तहका सरकारले मिलेर सामना गर्ने भएपनि केन्द्र सरकार उद्धार, राहत र पूनःस्थापनाको लागि मधेशमा नदेखिनु दुःखदायी भएको उनले आरोप लगाए । अहिले पनि कतिपय राजमार्गमा सडक सञ्जाल अवरुद्ध भएको र दुर्घटनाका घट्नाहरु बढ्न थालेको पनि उनले स्मरण गराए ।