रौतहट, २३ कार्तिक । वागमती र लाल बकैया नदीबाट जथाभावी रुपमा खोलाजन्य बस्तुहरुको धमाधम उत्खनन भईरहदा पनि नियमनकारी निकाय अनभिज्ञ रहेको छ ।
रौतहटको वृन्दावन, गढीमाई, माधवनारायण, दुर्गा भगवती, गुजरा र फतुवा विजयपुर सहितका स्थानीय तहको सिमा क्षेत्रमा पर्ने वागमती, लाल बकैया, चाँदी, हर्दीया, धनसर खोलाबाट अनाधिकृत रुपमा जथाभावी रुपमा खोलाजन्य बस्तुहरु निकाली चरम दोहन गरिरहदा पनि नियमनकारी निकाय अनभिज्ञ रहेको हो ।
रौतहट जिल्लाको अभिशापको रुपमा रहेका वागमती र लाल बकैया नदीले बर्षेणी ठूलो जनधनको क्षति पुर्याइरहदा जथाभावी रुपमा खोला दोहन गर्दा बाँध, स्परको साथै बस्ती बगाउने बर्षेणी संकट आईरहदा पनि सम्बन्धित स्थानीय तह वा नियमनकारी निकायबाट नियन्त्रण गर्ने तर्फ कुनै ठोस पहल वा कारवाही नगर्दा क्रशर उद्योग सहित खनन माफियाहरुको मनोबल बढ्दै गएको बताइएका छन् ।
दुर्गा भागती वडा नम्वर १ स्थित वागमती नदीमा निर्माणधिन पुल भन्दा उत्तर तर्फको क्षेत्रबाट २ बजे राति देखि नै बालुवा उत्खनन गरी ट्रेक्टरबाट ओसार्ने काम धमाधम भईरहेको छ तर त्यसलाई रोक्न स्थानीय प्रहरी र स्थानीय तहबाट कुनै पहल भएको देखिदैनन् सोको परिणाम खोलाको चरम दोहन भईरहेको स्थानीय बासिन्दाहरुले बताए ।
यस्तै माधवनारायण नगरपालिकाको गढो, गढीमाई नगरपालिकाको धरमपुर, लक्ष्मिपुर, समनपुर, टोकार वृन्दावन नगरपालिकाको रमौली, बलेरी, वागमती, चादी, गुजरा नगरपालिका स्थित लाल बकैया नदीको गर्जा घाट, फतुवा विजयपुरको लक्ष्मिनिया, वुटुवा, राँगी सहित एक दर्जन भन्दा बढी स्थानहरुबाट अनाधिकृत रुपमा गिटी, बालुवा, ग्रावेलको उत्खनन गरेर धमाधम विक्री वितरण भईरहेको पाइएको छ । आधिकारिक रुपमा साउन महिनामा खोला बन्द हुँदा हाल सम्म खुलेका छैनन् तर क्रशर उद्योगमा भण्डारण हुने क्रम जारी रहेका छन् । क्रशर बाहेक ट्रेक्टर धनीहरु विहानै देखि खोलामा गएर उत्खनन गर्ने कार्यलाई निरुत्साहित गर्न पालिका वा जिल्ला समन्वय समिति रौतहट उदाशिन रहेको गुनासो गरे ।
जिल्ला समन्वय समितिको कार्यालयबाट प्राविधिकहरुको टोलीले फतुवा विजयपुर, गुजरा, चन्द्रपुर, वृन्दावन, गढीमाई नगरपालिका स्थित लाल बकैया र वागमती नदीको ५ स्थानबाट खोलाजन्य पदार्थ निकाल्न सकिने असोज मसान्तमा प्रतिवेदन तयार गरेका थिए । सोही प्रतिवेदनको आधारमा सम्बन्धित पालिकाले वातावरर्णीय परिक्षण गराएर मात्रै टेण्डर प्रक्रिया अगाडी बढाउन सुझाव दिएको थियो ।
तत्कालिन जिल्ला विकास समितिकै समयदेखि वातावरणीय परिक्षणको नाममा हचुवाको भरमा कागजी प्रक्रिया पुरा गरेर वातावरणीय परिक्षण गर्ने गरेको सोहीको आधारमा टेण्डर प्रक्रियामा गढीमाई, वृन्दावन, चन्द्रपुर नपा गएको बुझिएको छ । स्थानीय एक जना कर्मचारीले नै वातावरणीय परिक्षण तयार गरेर दिएको आधारमा यहाँका पालिकाहरु टेण्डर प्रक्रियामा गएको श्रोतले दाबी गर्दै प्रत्येक बर्ष खोलामा उत्खनन गर्दा त्यसबाट हुने हानी नोक्सानी वारे अध्ययन गर्नुपर्नेमा २÷३ बर्षका लागि वातावरणीय परिक्षण गरेको कारण करोडौको लगानीमा बनाइएको बाँध र स्पर कटान हुनुका साथै खोला किनारको बस्तीहरु जोखिममा पर्दै गएको स्थानीय समाजसेवी शम्भु सुप्रिमले आरोप लगाए ।