इन्डिया–नेपाल बिजनेस एक्स्पो एन्ड समिट भरतपुरमा सुरु

   ६ पुष २०७८, मंगलवार ०७:०३  

तराई टप
भरतपुर, ६ पुस । ‘इन्डिया–नेपाल बिजनेस एक्स्पो एन्ड समिट–२०२१’ चितवनको भरतपुरमा शुक्रबार सुरु भएको छ ।
भारतको पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (पीएचडीसीसीआई)द्वारा आयोजित एक्स्पो चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आइतबारसम्म चल्नेछ । उक्त सम्मेलन नेपाल र भारतबीचको व्यापार तथा लगानी सहकार्यका लागि आयोजना गरिएको बताइएको हो ।
सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले दुई देशबीच व्यापारिक र लगानीका क्षेत्रमा हुने सहकार्यका लागि एक अवसरका रुपमा सम्मलेन रहेको बताए ।
भारतले नेपालमा गरेको लगानी बाट संचालनमा रहेका आयोजनाहरु समयमै सम्पन्न गर्ने र थप लगानी प्रोत्साहनका लागि नेपालको तर्फबाट गर्नुपर्ने आयोजना विकास व्यवस्थापन, समन्वय र सहकार्यको वातावरण सिर्जना गरेको उनको भनाइ छ ।
अरुण–३ जलविद्युत आयोजना भारतको लगानीमा नेपालमा सञ्चालित एक सफल आयोजनाका रुपमा रहेको भन्दै भट्टले भारतीय लगानीकर्ताहरू बाट नेपालमा थप लगानीका लागि आह्वान समेत गरे ।
नेपालका लागि भारतीय राजदूतावासका फस्ट सेक्रेटरी एण्ड कमर्सियल रिप्रिजेन्टेटिभ अभिषेक उपाध्यायले नेपालमा लगानी गर्नका लागि भारतीय लगानीकर्ताहरूका लागि उपयुक्त वातावरण रहेको भए पनि नेपालले भारत सँग भोग्दै आएको व्यापार घाटामा सरकारको हस्तक्षेप गर्न सक्ने तर्फ इंगित गरे ।
यद्यपि नेपालमा वस्तुको लागत मूल्य, बजार पहुँच, व्यवसायिक वातावरण बनाउन नेपालले गरिरहेको प्रयास सकारात्मक रहेको उपाध्यायले बताए । वैदेशिक व्यापारमा नेपालले भोग्दै आएको व्यापार घाटा न्यूनीकरणका लागि सरकारले केही कडाइका कदम चाल्न सक्ने बारे भारतीय लगानीकर्ताको चासो देखिएको छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र वैदेशिक लगानीकर्ता मुलुक हो ।
नेपालका लागि भारतीय राजदूतावास, लगानी बोर्डको कार्यालय, नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघले सहआयोजना गरेको उक्त कार्यक्रममा दुवै देशका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा लगानीकर्ताको सहभागिता रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै