कोरोना महामारीले विश्व अर्थतन्त्रलाई घुँडा टेकाउँदा भारत भने त्यसलाई अवसरमा बदल्दै तीव्र आर्थिक वृद्धिको बाटोमा अगाडि बढ्यो। सन् २०२१ मा ९.१ प्रतिशतको प्रभावशाली आर्थिक वृद्धि हासिल गर्दै ८४ अर्ब डलरको विदेशी लगानी भित्र्याउनु र एकै वर्षमा ४० भन्दा बढी ‘युनिकर्न’ कम्पनी जन्माउनु कुनै चमत्कार थिएन, बरु भारतको आर्थिक लचकताको ज्वलन्त उदाहरण थियो। आज पुनः भारतको यही लचकता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएका नयाँ भन्सार नीतिहरूसँग जुध्ने अवस्थामा छ। यी नीतिहरूले भारतका कपडा, गहना र इन्जिनियरिङ्ग उत्पादन जस्ता श्रमप्रधान निर्यातमुखी उद्योगलाई तत्काल प्रभावित गर्न सक्ने देखिएको छ। तर, भारतका नीति निर्माताहरूले भने यसबाट दीर्घकालीन असर नपर्ने विश्वास लिएका छन्।
महामारीको कठिन समयमा भारत सरकारले राजकोषीय प्रोत्साहन, तरलता प्रवाह र द्रुत खोप अभियानमार्फत लगानीकर्ताको मनोबल उकास्यो। यसैको परिणामस्वरुप सन् २०२२ मा खाद्यान्न र ऊर्जाको मूल्यवृद्धिले मुद्रास्फीति ६.७ प्रतिशत पुगे पनि भारतीय रिजर्भ बैंक (RBI) को समयमै भएको हस्तक्षेपले अर्थतन्त्रलाई थप जोखिममा पर्न दिएन। पछिल्लो एक दशकयता भारतले वस्तु तथा सेवा कर (GST), दिवालिया सम्पत्ति समाधानका लागि ल्याइएको Insolvency and Bankruptcy Code जस्ता संरचनागत सुधारमार्फत ३.७ ट्रिलियन डलरको अर्थतन्त्रलाई एउटै बजारमा रूपान्तरण गर्न सफल भएको छ। आधार र युपिआईमार्फत २०२३ मा मात्रै १०० अर्बभन्दा बढी डिजिटल कारोबार हुनु यसैको प्रमाण हो।
एक दशकयता भारतमा आर्थिक सुधार मात्र होइन, सामाजिक रूपान्तरण पनि मौन तर शक्तिशाली रूपमा भइरहेको छ। भारत अहिले विश्वकै तेस्रो ठूलो स्टार्टअप इकोसिस्टम बनेको छ, जहाँ प्रविधि, कृषि, रसद र रक्षा जस्ता क्षेत्रमा नयाँ उद्यमीहरूले नयाँ सम्भावनाको ढोका खोलिरहेका छन्। विदेशी ऋणको न्यून स्तरले पनि भारतलाई बाह्य झटकाहरूबाट जोगिन मद्दत पुर्याएको छ। ट्रम्पको भन्सार नीतिले चुनौती थपे पनि भारतको व्यापार रणनीति विविधीकरणको गति अझ बढ्ने सम्भावना छ। युरोपेली संघ (EU) भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा उभिएको छ, र यस सम्बन्धलाई अझ गहिरो बनाउने प्रयास भइरहेको छ। भारतका लागि लचकता भनेको केवल जोगिनु मात्र होइन, हरेक संकटपछि अझ बलियो भएर निस्कन सक्ने क्षमता हो। यही विशेषताले भारतलाई विश्वव्यापी अर्थतन्त्रमा एक बलियो प्रतिस्पर्धीको रूपमा स्थापित गरेको छ। नेपालपाना
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन