प्रेमचन्द्र झा
गौर कबिर चौकमा २०७२ सालको मधेस आन्दोलनमा गोली लागेर गम्भीर घाइते भएका गौर नगरपालिका–४ निवासी लालबाबु राय पटेल अपाँग जिवन बिताउन बाध्य छन् ।
आन्दोलनको समयमा राज्यसँग हक–अधिकारको माग गर्दै सडकमा उत्रिएका पटेललाई २०७२ भदौ २७ गते दिउँसो करिब २ बजे सुरक्षाकर्मीले चलाएको गोली मेरुदण्डमा लागेको थियो । त्यसपछि उनी कहिल्यै पनि पुरानै अवस्थामा फर्किन सकेनन् ।
गोली लागेर गम्भीर घाइते भएका पटेल करिब छ महिनासम्म विभिन्न अस्पतालमा उपचाररत रहेका थिए — वीर अस्पतालको सघन कक्षमा दुई महिना, नारायणी अस्पतालमा तीन महिना, नयाँ दिल्लीको एम्स अस्पतालमा बीस दिन र त्रिवि शिक्षण अस्पतालमा थप पन्ध्र दिन सम्म व्यति गरे । अहिले पनि उनको स्वास्थ्य अवस्था कमजोर नै छ ।
“अब म बाटो हिँड्न पनि असहज महसुस गर्दछु, काम गर्न सक्दिनँ,” उनले दुःख पोख्दै भने, “राज्यले उपचार खर्च त दियो, तर त्यसपछि कसैले मेरो अवस्था सोध्न समेत नआएको गुनासो गरे ।”
चार धुर जग्गामा सामान्य घर भएका पटेलको आर्थिक अवस्था अत्यन्त कमजोर छ । श्रीमती र पाँच छोरीसहित एक छोरा रहेको परिवारको गुजारा चलाउन निकै कठिन भएको उनले बताए । “मधेसका लागि आन्दोलन गर्दा गोली खानुपर्यो, तर अहिले परिवार पाल्न निकै समस्या छ,” उनी भन्छन् ।
जिउदो सहिद पटेलका अनुसार, मधेस प्रदेश सरकारले ‘मधेसी सहिद दिवस’ को अवसरमा दुई लाख रुपैयाँ एकमुष्ट सहयोग गरे पनि त्यसले उनको दैनिकी सहज बनेको छैन । उनले भने, “राज्यले मलाई कुनै सहज काममा लगाएर सानो मासिक तलब सुविधा दिएको भए म र मेरो परिवारले सम्मानपूर्वक बाँच्न सक्थ्यौं ।”
राजनीतिक रूपमा सचेत पटेल अहिले पनि मधेस आन्दोलनलाई देश परिवर्तनको मर्मका रूपमा हेर्छन् । “मधेस आन्दोलनपछि राज्यको मधेसप्रतिको नजरिया केही बदलिएको छ,” उनी भन्छन्, “तर त्यो परिवर्तन व्यवहारमा झल्किन सकेको छैन ।”
उनको भनाइमा, आन्दोलनको जगमा बनेको मधेस प्रदेशले पनि मधेसको पहिचान र अधिकारको सवालमा अपेक्षित काम गर्न सकेको छैन । “मधेसलाई आठ जिल्लामा सीमित बनाउनु राजनीतिक रूपमा मधेसको हैसियत घटाउने प्रयास हो,” उनले असन्तोष व्यक्त गरे ।
उनले थपे, “हामीले हतियार होइन, आवाज उठाएका थियौं । त्यस आवाजले देशको संरचना बद्लियो । तर आज त्यही परिवर्तनका साक्षी हामीजस्ता घाइते आन्दोलनकारीहरू राज्यबाट उपेक्षित भइरहेका छौं ।”
स्थानीय स्तरमा विभिन्न संघ–संस्थाले समय–समयमा सहयोग नगरेको उनको गुनासो छ । जीविकोपार्जनका लागि उनी राज्यसँग रोजगार वा मासिक भत्ता व्यवस्थाको माग गरिरहेका छन् । “मधेस आन्दोलनको नारा थियो — समान अधिकार र सम्मानको । त्यो नारा मेरो जीवनमा अझै अधुरो छ,” पटेलको पीडा यत्तिकैमा सीमित छ ।