गौर कारागार भवनमा क्षमता भन्दा तेब्बर कैदीबन्दी, कुनैपनि वेला भवन भत्किने त्रासपूर्ण वातावरणमा कैदीहरु बस्न बाध्य

   कार्तिक २३, २०७७  
1.1K Shares

रौतहट, २३ कार्तिक । रौतहट सदरमुकाम गौर नगरको मध्य भागमा अवस्थित जिल्ला कारागारमा क्षमता भन्दा तीन गुना बढी कैदी बन्दी हुँदा निकै समस्या भइरहेको बताइएको छ ।
विक्रम सम्बत १९८९ सालमा राणाकालिन समयमा निर्माण भएको गौर कारागारमा कैदी बन्दी राखिने क्षति १२० जनाको मात्रै छ तर अहिले गौर कारागारमा ३६० बन्दी रहदा तिन गुना बढी बन्दीहरु राख्नु पर्दा समस्या उत्पन्न हुनु स्वभाविकै हो ।
क्षमताभन्दा तेब्बर कैदी बन्दी भएकाले आवास, विद्युत्, खानेपानी, स्वास्थ्योपचार लगायतको व्यवस्थापनमा समस्या हुने गरेको गौर कारागारका जेलर शम्भुप्रसाद यादवले बताए । धेरै पुरा तथा जिर्ण भईसकेका भवन कुनैपनि बेला भत्किने डरबाट आफूहरू रातभरी सुत्न नसकेको भन्दै जेल प्रशासनलाई कैदीबन्दीले गुनासो गर्दै आएको उनले भने ।
क्षमताभन्दा बढी कैदी बन्दीहरु राखिएको हुँदा कुनैपनि वेला जिर्ण भवन भत्किएर ठूलो जनधनको क्षति हुने त्रासपूर्ण वातावरणमा जीवन काटिरहेको गुनासो गर्दै कैदीबन्दीहरु सरकारको ध्यानाकर्षण समेत गराएका छन् । गर्मीको बेला खादिएर सुत्न नसक्ने कैदीहरु वर्षा लागेपछि पानीमा रुझ्दै बस्न बाध्य हुन्छन् । हिउँदमा चिसोले कठ्याङ्ग्रिनु पर्ने अवस्था रहेको उनीहरुको गुनासो छ ।
पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर यादवले बताए । कारागार प्रशासनले कारागार विभागलाई पटक पटक यहाँको समस्याबारे जानकारी गराउँदै आए पनि सुनवाइ नभएको यादवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै