भारतको पुनेमा भईरहेको संयुक्त सैनिक अभ्यासमा नेपालको सहभागीता

तराई टप
रौतहट, ६ पुस । भारत महाराष्ट्र राज्यको पुनेमा बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) संयुक्त सैनिक अभ्यासमा नेपालले सहभागीता जनाएको छ ।
पुनेमा सोनवार देखि सुरु भएको तिन दिवसिय उक्त सैन्य अभ्यासमा नेपालबाट सहभागीता जनाउनु अर्थपूर्ण रुपमा लिएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार उक्त अभ्यासमा नेपालबाट सैनिक पर्यवेक्षकको हैसियतमा एक जना महासेनानीले प्रतिनिधित्व गरिरहेका छन् । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा रहेका सैनिक सहचारी रामचन्द्र खत्री कार्यक्रममा सहभागी हुन पुनेमा गएको बताए ।
प्रवक्ता पौडेलले उक्त अभ्यास विपद् व्यवस्थापन प्रतिकार्यमा रहेको र त्यहाँ अनुभव साटासाट गर्ने वा आदान–प्रदान हुने बताए । उक्त अभ्यासमा नेपाल सहित भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका सुरक्षाकर्मीले सहभागिता जनाएको छ । संयुक्त सैनिक अभ्यासमा महामारीको पृष्ठभूमिमा प्राकृतिक प्रकोप सँग जुध्न संयुक्त प्रतिक्रिया संयन्त्र विकास गर्ने उद्देश्यले बिमस्टेक मुलुकहरुको बहुराष्ट्रिय मानवीय सहायता र विपद् राहत अभ्यास भएको सेनाले जनाएको छ ।
सन् २०१८ को सेप्टेम्बरमा पुनेमा भएको पहिलो संयुक्त सैनिक अभ्यासमा ३० जना नेपालीले सहभागिता जनाउने भनेकोमा विरोध भएपछि काठमाडौंबाट दुई मेजर र दिल्ली स्थित नेपाली सहचारी गरी ३ जना पर्यवेक्षकका रुपमा मात्र गएका थिए । त्यस बेला ६ दिनको संयुक्त अभ्यास आयोजना गरिएको थियो । उक्त अभ्यास सेप्टेम्बर १० देखि १५ सम्म चलेको थियो ।
नेपालका तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त अभ्यासको समापन कार्यक्रममा जाने तय भएको थियो । तर अभ्यासका बारेमा नेपालमा विरोध हुन थालेपछि तत्कालिन केपी शर्मा ओली सरकारले उक्त अभ्यासमा नेपालको तर्फबाट सहभागिता नजनाउने निर्णय गरेका थिए । ओलीले तत्कालिन नेकपा भित्रैबाट उक्त अभ्यासमा सहभागिता जनाउने सम्बन्धमा विरोध भएपछि नेपाली सेनालाई जानबाट रोक्ने निर्णय गरेको थियो । नेपालले सुरुआतमा सहभागिता जनाउने वचन दिए पनि अभ्यासका लागि नजाने भएपछि भारत रिसाएको थियो । उक्त अभ्यासमा भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका सुरक्षाकर्मीले सहभागिता जनाएका थिए ।
अहिले विपद् व्यवस्थापनको क्षेत्रमा मात्र अनुभवहरु साटासाट गर्नको लागि नेपाली सेनाका अधिकारी पर्यवेक्षकको रुपमा पुने गएको सैनिक प्रवक्ता पौडेलले स्पष्ट पारे । उनले पहिलो सैनिक अभ्यासका दौरान नेपालबाट पहिलो सहभागिता जनाउने भनिए पनि पछि सहभागिता नजनाएको प्रष्ट पारे । ‘नेपालमा हामीले अन्य सैनिकहरु सँग जसरी संयुक्त सैनिक अभ्यास गर्दा विपद् व्यवस्थापनका सम्बन्धमा अभ्यास गर्दै आइरहेको छ ।