तनहुँ, २६ कार्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भदौ २३ गतेको जेनजी आन्दोलनमा युवाहरुमाथि गोली बर्साएर हत्या गर्ने हत्याराहरूलाई अहिलेसम्म कारबाही नगरिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् ।
गृहमन्त्री अर्यालको कार्यक्षमता माथि प्रश्न उठाउँदै साहले जिम्मेवारी पूरा नगर्ने हो भने मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।
आज पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले एक साताभित्र जेनजी आन्दोलनमा दमन गर्नेहरु र युवाहरुको हत्यामा संलग्न अपराधीलाई कारबाही नगरे काठमाडौं बाहिर निस्किन नदिने चेतावनी दिए ।
उनले भने, ‘जेन–जी हत्याराहरूलाई एक साताभित्र बयान नलिए र कारबाही नगरे गृहमन्त्रीलाई काठमाडौंबाट बाहिर निस्कन दिनुहुँदैन् । यस्ता लुते गृहमन्त्रीले देशका लुतोहरु फाल्ने नसक्ने देखियो । अहिलेका गृहमन्त्रीको कारण देशमा शान्ति, सुरक्षा र अमनचयन हुने सम्भावना देखिएन साहले गम्भीर आरोप लगाए ।’
साहले तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई बयान लिन ढिलाई गर्नुको कारण के हो ? भनेर पनि गृहमन्त्रीलाई सोधेको छन् । उनले जेनजी हत्यारालाई बयान सम्म लिन नसक्ने यो सरकारले फागुनमा चुनाव गराउँछ भनेर कसरी पत्याउने भनेर आशंका व्यक्त गरेका छन् ।
उनले भने, ‘देशका कलिला युवाहरुलाई ताकि ताकि हत्या गर्नेहरु नै अहिले मुन्टो उठाउन थाले, गुण्डाहरुको बलमा बाईक रयाली निकाल्ने थाले । अब जेनजी शहिद परिवारले यो दृश्य कसरी सहन्छन् ?’ जेन–जी आन्दोलनको दमन र हत्याबारे जाँचुबझ गर्न बनेको आयोगका पदाधिकारीको क्षमतामाथि पनि उनले प्रश्न उठाए ।
माथिबाट बयान लिएर जानुपर्नेमा जाँचबुझ आयोगका पदाधिकारी जिल्ला भ्रमण र अवलोकनमा लागेको भन्दै उनले आक्रोश पोखे । साहले जेनजी आन्दोलनमा मृत्युवरण गर्न बाध्य युवाहरुको परिवारका सदस्यहरुलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने माग गरे ।
उनले भने,‘उनीहरुको परिवारको अवस्था अहिलेपनि नाजुक छ । दयनीय छ । म सरकारलाई र खासगरी मिडियावाजी गर्ने मन्त्रीहरुलाई भन्न चाहन्छु–एक÷दुई दिन अस्पतालमा पुगेर घाईते भेटेको तस्विर हालेर मात्रै हुन्छ ? स्टन्ट होईन, स्टेप चाल्नुहोस । म्यानिपुलेशन होईन, म्याण्डेट पूरा गर्नेतर्फ सोच ।’
उनले भने, ‘२१ फागुनअघि नै राजीनामा दिएर राजनीति गरे भने कुलमानलाई जनकारबाही गर्नुपर्छ । कुलमानको खोक्रो लोकप्रियताको छवि नाङ्गो भैसक्यो । कुलमान आँफैमा थोत्रो गाडी हुन्, यिनले देशलाई गन्तव्यमा पुर्याउन सक्दैनन् ।
अर्थमन्त्री माथि पनि मिडियाले प्रश्न उठाएका छन् । दोहोरो करको विषयमा, तपाईंले पनि जवाफ दिनुपर्छ ।’ उनले प्रधानमन्त्री सुशीलाले कस्तालाई मन्त्री बनाईछन् भनेर जनस्तरबाट प्रश्न उठन् थालेको भन्दै दुई महिना नबित्दै काण्डमा मुछि हालेको भन्दै कुलमान र रामेश्वर खनालले अब आफूमाथि लागेको आरोप बारे बोल्नुपर्ने बताए ।