सर्लाही, ३ कार्तिक । विजुलीको ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई सर्लाही प्रहरीले पर्दाफास गर्दै ९ जनालाई विभिन्न स्थानहरुबाट पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवा परिसरमा आयोजित पत्रकार सम्मेलनको माध्यमबाट चार भारतीय सहित ९ जनालाई सार्वजनिक गर्दै एसपी योगेन्द्रकुमार खडकाले जिल्लाको विभिन्न स्थानहरुबाट १७ वटा कृषि प्रयोजनका लागि जडान भएका ट्रान्सफर्मर चोरी भएपछि “अप्रेशन चार्ली” मार्फत देशको विभिन्न स्थानहरुबाट चार भारतीय नागरिक सहित ९ जनालाई पक्राउ गर्न सफल भएको जानकारी गराएका हुन् ।
बागमती, रानिगन्ज, चन्द्रनगरलगायत स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएका १७ वटा ट्रान्सफर्मर चोरी भएपछि प्रहरी सामु ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई समात्ने ठूलो चुनौती रहपनि “अप्रेशन चार्ली” मार्फत प्रहरीको सुक्ष्म अनुसन्धानबाट दशी प्रमाण सहित उनीहरुलाई पक्राउ गर्न सफल भएको एसपी खडकाले जानकारी गराए ।
“अप्रेशन चार्ली” अन्तर्गत ट्रान्सफर्मर चोरीमा संलग्न इलाम माई जोगमाई गाउँपालिका–४ का २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोक पाखर गाउँपालिका–१ का ४२ वर्षीय सोनाम लामा, महोत्तरी बर्दिवास नगरपालिका–३ का ५३ वर्षीय बुधे माझी, वीरगन्ज महानगरपालिका–१६ का ३३ वर्षीय दिलिपकुमार ओझा र बारा जितपुर सिमरा उपमहानगरपालिका–६ का ३९ वर्षीय कृष्ण श्रीवास्तवलाई पक्राउ गरिएको छ ।
यसैगरी भारत विहार पूर्वी चम्पारण जिल्लाको हरदिया गाउँका ५५ बर्षीय मोहम्मद रयाजुल, समस्तीपुर मोहरी टोलका ३५ बर्षीय संजित पदार्थ, पूर्वी चम्पारण चिरैया थाना ६ घर भई हाल विरगंज १५ मा कवाडी गोदाममा बस्दै आएका ५० वर्षीय सुखाडी सहनी, सोही स्थानका २० वर्षिय सरोजकुमार सहनीलाई दशी प्रमाण सहित पक्राउ गरेर हिजो मलंगवामा सार्वजनिक गरिएका छन् ।
उनीहरुको साथबाट चोरी गरिएको विद्युत ट्रान्सफर्मरको तार १०३.८ केजी, चोरीमा प्रयोग गरिएको औजार ५१ थान र चोरीमा प्रयोग गरिएको दुई थान ई–रिक्सासमेत बरामद एसपी खड्काले बताए । चोरीमा संलग्न व्यक्तिहरुलाई महोत्तरी, बारा, पर्सा लगायत स्थानहरुबाट पक्राउ गरिएको सो पत्रकार सम्मेलनमा उनले भने ।
परेकामध्ये सिन्धुपाल्चोकका सोनाम लामाविरुद्ध चोरी तथा डाँका सम्वन्धी कसूरमा विभिन्न जिल्लामा चारवटा मुद्दा चलेको र महोत्तरीका बुधे माझीविरुद्ध कर्तव्य ज्यान एक, डाँका एक र अभद्र व्यवहारमा दुईवटा मुद्दा चलेको पाइएको छ ।
भारतीय नागरिक सुखाडी सहनीले इलामका दुर्गा अधिकारी, सिन्धुपाल्चोकका सोनाम र महोत्तरीका बुधेसँग मिलेर एकान्त ठाउँमा रहेका ट्रान्सफर्मरहरु बारे सूचना सङ्कलन गर्ने जनाइएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका–६ का ३९ वर्षीय कृष्ण श्रीवास्तवको आफ्नै गढिमाई मेटल प्रा.लि. रहेको र त्यहाँ चोरी गरिएको ट्रान्सफर्मरको तामा पगालेर भाडाहरु बनाइ बेच्ने गरेको समेत प्रहरीले जानकारी गराए ।
पक्राउ परेका ९ जना विरुद्ध चोरी सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराएर आवश्यक अनुसन्धान भईरहेको सर्लाही प्रहरी प्रमुख खड्काले जानकारी दिए ।