पटना, ४ मंसिर । छिमेकी मुलुक भारतमा नितिश कुमारले इतिहास रच्दै १० औं पटक विहारको मुख्यमन्त्रीको सपथ खाएका छन् ।
भारतीय जनता पार्टी र जनता दल युनाइटेड सहितका गठबन्धनले २४३ सदस्यीय विधान सभाको लागि भएका निर्वाचनमा २०२ प्रचण्ड बहुमत ल्याएपछि गठबन्धनका नेता जदयुका अध्यक्ष कुमारलाई संसदीय दलको नेताको रुपमा छनौट भएपछि विहिवार प्रसिद्ध पटनाको गान्धी मैदानमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख उपस्थितिमा सपथग्रहण गरेका हुन् ।
नितिश कुमारले सन् २००५, २०१० र २०१५ मा पनि सरकार गठनको घोषणा गरेका थिए । यही स्थान सन् १९७४ मा जयप्रकाश नारायणले ‘पूर्ण क्रान्ति’ को आह्वान गरेको ऐतिहासिक पृष्ठभूमिका कारणले पनि प्रख्यात रुपमा मानिन्छ ।
कार्यक्रममा एनडिए नेतृत्व गरेका विभिन्न राज्यका मुख्यमन्त्रीहरूको उपस्थिति थियो । हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी, असमका हिमन्त बिस्वा सरमा, नागाल्यान्डका नेफियू रियो, आन्ध्र प्रदेशका एन. चन्द्रबाबु नायडू, उत्तर प्रदेशका योगी आदित्यनाथ र उत्तराखण्डका पुष्कर सिंह धामीलगायत प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए ।
बिहारका राज्यपाल आरिफ मोहम्मद खान, एलजेपी (राम विलास) का नेता चिराग पासवान लगायतका प्रमुख व्यक्तित्वहरू पनि समारोहमा उपस्थित थिए ।
बुधबार पटनास्थित आधिकारिक निवासमा आयोजित नयाँ विधायकहरूको बैठकमा जेडीयू विधायक दलले सर्वसम्मतिले नितिश कुमारलाई पहिलो पटक आफ्नो दलको नेताका रूपमा चुनेको थियो । यसपछि एनडीए विधायक दलले पनि आज उनलाई सर्वसम्मतिले नेता चयन गर्दै नयाँ सरकार गठनको बाटो खुला गरे ।
भारतीय जनता पार्टी भाजपाको प्रदेश मुख्यालयमा बसेको बैठकमा सम्राट चौधरी र विजयकुमार सिन्हालाई क्रमशः भाजपाको विधायक दलको नेता तथा उपनेता चयन गरिएको थियो । बिहारमा विधायक दलको नेतृत्व चयनका लागि केन्द्रीय पर्यवेक्षकका रूपमा आएका उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले दुवै नाम प्रस्ताव गरेको थियो, जसलाई बाँकी सांसद तथा विधायकहरूले समर्थन जनाएका थिए ।
एजेन्सी