वृन्दावन नपा ९ भुसहामा २५ बर्षीया बुहारी तरिमा खातुनको ससुरा सहित विभत्स हत्या गरेर बोरामा शव राखी खाल्डोमा पुरिएपछि प्रहरीले खाल्डोबाट बाहिर निकालेर पोष्टमार्टमका लागि लग्दै ।
रौतहट, ९ मंसिर । रौतहटको वृन्दावन नगरपालिकामा एक महिलाको विभत्स हत्या गरेर खाल्डोमा पुरिएको अवस्थामा प्रहरीले बरामद गरेका छन् ।
वृन्दावन नगरपालिका–९ भुसहा गाउँ निवासी शेख आदिलको २५ बर्षीया श्रीमती तरिमा खातुनको सोमवार राति हत्या गरी भुस राख्ने कोठामा खाल्डो खनेर पुरिएको अवस्थामा महिलाको शव मंगलवार विहान बरामद गरेका हुन् ।
श्रीमान् आदिल बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरवमा रहेको र घरमा खातुनका ससुरा शेख अलि महम्मद सहितका परिवरजन मिलेर हत्या गरी भुस राख्ने कोठामा खाल्डो खनेर पुरेपछि माथिबाट भुस राखेर राति देखि नै उनीहरु वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आज विहान इलाका प्रहरी कार्यालय गरुडामा प्राप्त भएको जानकारी पश्चात इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए ।
प्रहरी घटनास्थलमा जाँदा कोहीपनि घरमा नरहेको यहाँ सम्मकी मृतक महिलाको डेढ बर्षको अबोध छोरा महम्मद आरिफलाई समेत उनीहरु लिएर वेपत्ता रहेको डिएसपी वस्यालले भने ।
मृतक महिलाको टाउकोमा धारिलो हतियारबाट प्रहार भएको र दाहिने खुटामा गम्भीर चोट देखिएको हुँदा पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा महिलाको शव राखिएको डिएसपी वस्यालले बताए । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको तथा फरार रहेका व्यक्तिहरुको व्यापक खोजी कार्य जारी रहेको उनले बताए ।
यसैविच मृतक छोरीको वुवा ताज महम्मदका अनुसार छोराको ससुराली पनि दिदीकै घरमा रहेको र छोरा दिदीको घर अर्थात् ससुराली आएकै बेला सोमबार राति आफ्नी दिदीको हत्या भइरहेको देखेका खातुनका भाइ शेख आस मोहम्मदलाई परिवारका सदस्यले हल्ला गर्यो भने तिमीलाई पनि मारिदिन्छु भन्दै धम्की दिएपछि उहाँ घरबाट भाग्न सफल भए ।
फरार हुँदै उनले दिदीको हत्या भएको प्रमाणस्वरूप तस्बिर माइती तर्फ पठाएको परिवारजनले जनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
स्मरण रहोस की, खातुनको गुजरा नपा–७ पल्टुवामा माइती घर रहेको छ । माइती घरकै नातामा भतिज पर्ने गुड्डु भन्ने अलाहुद्दिन संग अनैतिक सम्बन्ध राखिरहेकै अवस्थामा घरपरिवारको मासिनहरुले समातेर इकाला प्रहरी कार्यालय चन्द्रपुरमा गत कार्तिक १८ गते बुझाएका थिए ।
सोही दिन महिलालाई वृन्दावन नपा–९ का प्रवेज आलमको रोहवरमा ससुरा शेख आदिलले दुबै जना घरकै सदस्य रहेको हुँदा हामी सम्झाएर राख्ने भन्दै आदिलको जिम्माजमानीमा छाडिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट बुझिएको छ ।