तराई टप डेष्क
पछिल्ला समयमा राजस्व छलेर दैनिक लाखौं मूल्य बराबरको मालसामानहरु नेपाल भित्रिने र त्यतीकै नेपालबाट भारत तर्फ लैजाने कारोवारीहरुका लागि अहिले सर्लाहीका नाकाहरु स्वर्ग बन्दै गएका छन् ।
सग्राम्पुर, त्रिभुवननगर, सखुवबा, गोरखकाली, भाँडसर, बाराउधोरन, सिमरा, मधुबनी, अर्नाहा, बलरा, लक्ष्मिपुर, छतौना, छनकी लगायतका दर्जनौं सर्लाहीका सीमानाकाहरु तस्करी गर्नेहरुका लागि स्वर्ग बन्दै गएका हुन् ।
सीमानाकामा अबैध कार्यलाई नियन्त्रण गरी राजस्व बढाउने कार्यमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका विओपीको सेटिंगमा राजस्व चुहावटको कार्यहरु धमाधम संचालन रहेको स्थानीय श्रोतहरुले बताए ।
सखुवबा नाकाबाट कारोवार गर्न गराउन पर्सा प्रहरी चौकीका इन्चार्ज शम्भुप्रसाद यादवको स्वीकृति लिएर दिनभरी राजस्व छलीका कार्यहरु निर्वाध रुपमा संचालनमा रहेको श्रोतको दाबी छ ।
सीविल घुमुवाहरु तथा सीमावर्ती युनिट इन्चार्जहरुको परोक्ष सेटिंगमा हुने यस्ता कार्यहरु तल देखि लिएर माथि सम्मको भाग उठ्ने गरेको श्रोतले बतायो ।
प्रसनी यादवले आफना खास मानिसलाई सादा पोशाकमा सीमापारी सम्म पठाएर असुली धन्धा जारी राखेको हुँदा तस्करी कार्य ठूलो परिमाणमा जारी रहेको बताइएको छ ।
सखुवबाको अजय दासको विद्यालयको पछाडी धान गोदाम, सत्यम होटेल नजिक भएर कबाडी भारत तर्फ लैजाने गरेको छ । दासले उक्त कार्य गरेवापत यादवलाई महिनावारी रुपमा सेटिंग मिलाएर कारोवार संचालन गरेको छ । भारतबाट धान दैनिक रुपमा भित्रयाएर दासले गोदाममा भण्डारण गर्ने गरेको छ । त्यती मात्रै नभई विजय, पुकार, अजय सहनी, पारस यादव सहितका व्यापारीहरु कपडासहित खाद्यान्नको सामानहरु ओसारीरहेका ति श्रोतले दाबी गरेका छन् ।
त्रिभुवननगर नाका भएर सिविल घुमुवा प्रहरी हबलदार भाग्यनारायण साह को मिलोमतोमा ठूलो परिमाणमा सुरेश यादव, अशोक यादव, अनिता, सुनिल, पर्साका सन्तोष भण्डारी व्यापारीहरुले कपडा, किराना सामान, धान गहँु, काजु किसमिस, फलफुलको विरुवा सहितका सामानहरु निर्वाध रुपमा भारतबाट नेपालमा भित्रयाउदै आएका छन् ।
स्मरण रहोस कि, सखुवबा सीमापारी सहोर्वामा पिकअप एवं मालबाहक ट्रकमा आएका कपडा, स्पेयर पार्टस, सहितका विभिन्न सामानहरु मोटरसाइकलको माध्यमबाट सजिलै नेपाली गोदाममा भण्डारण गरेर विभिन्न स्थानहरु पठाउने गरिएको पाइएको छ ।
चाइनिज स्याऊ, लहसुन, फर्सीको विऊ, अखरोट लगायतका सामानहरु अहिले ठूलो परिमाणमा भारत जाने क्रम जारी रहेका छन् । उक्त कार्यमा सर्लाही, रौतहटका कारोवारीहरु प्रत्यक्ष एवं परोक्ष रुपमा संलग्नता रहेका कारण सीमावर्ती क्षेत्रबाट हुने राजस्व छलीका कार्यहरु दिनप्रतिदिन फस्टाउदै गएको ति श्रोतले दाबी गरे ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले हामी राजस्व छलीका कार्यहरु नियन्त्रण गर्न कडाईका साथ निगरागनी गरिरहेको बताए ।