सञ्जय मिश्रा
रौतहट, ,१३ मंसिर । परस्त्री गमन गर्ने स्थानीय तहका निर्वाचित वडा सदस्य र उक्त कार्यमा साथ दिने महिला विरुद्ध रौतहट प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएका छन् ।
रौतहटको कटहरिया नगरपालिका–१ का वडा सदस्य सतलाल दासले विवाहित दलित महिलालाई ललाइफकाइ भगाएर परस्त्री गमन गरेको आरोप लागेपछि सामाजिक मूल्य मान्यतालाई तार तार गरेकोमा जिल्ला प्रहरी कार्यालय रौतहटले दाससहित भागेकी महिलामाथि पनि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएका हुन् ।
दासलाई गत मंसिर ५ गते शुक्रबार गौरबाट पक्राउ गरिएलगत्तै मुद्दा दायर गरिएको थियो भने दलित महिलामाथि भने हिजो (शुक्रवार) मुद्दा दर्ता गरिएको प्रहरीले जनाए ।
तीन सन्तानकी आमा महिलालाई उपभोक्ता समितिको सचिव बनाइ दासले प्रेमजालमा पारेर भगाएको परिवारजनको आरोप छ । चार सन्तानका पिता दासले अर्काकी श्रीमतीसँग सम्बन्ध बढाउँदै घरका पैसा, सुनचाँदी देखि जग्गासमेत हिनामिना गरेको पीडित परिवारले दाबी गरे ।
पीडित महिलाका बुबाका अनुसार २०७२ सालमा विवाह भएकी छोरीसँग दासको आवत–जावत बढेपछि विदेशमा रहेका छोरीका श्रीमानले पठाएको करिब १२ लाख रुपैयाँ, तीन लाख बराबरका सुनचाँदी तथा चारकठ्ठा जग्गासमेत दासले दुरुपयोग गरेको आरोप छ । उक्त जग्गा दासले धरौटी राखेर पैसा निकालेको समेत खुलासा गरे ।
पछिल्ला केही महिनादेखि महिलाले तीन साना छोरालाई घरमै छाडेर दाससँगै बाराको निजगढमा भाडाको कोठामा बस्दै आएको खुलेको छ । स्थानीयको खोजीपछि दुवै एकै कोठाबाट भेटिएपछि स्थानिय प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा बुझाइए थिए ।
प्रहरीका प्रवक्ता डिएस्पी विष्णु प्रदीप बस्यालले विदेशबाट पठाएको पैसा, गहना र जग्गा सम्बन्धी प्रमाण पेश भएमा दासविरुद्ध कडा कानुनी कारबाहीको बाटो खुल्ने बताए । बस्यालले क्षतिपूर्ति अनिवार्य हुने चेतावनी पनि दिएका छन्। हाल दुवैजना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन्।
घटनाले एकैपटक सात बालबालिकाको भविष्य अन्योलमा पारेको छ भने विदेशमा रहेका नेपाली युवाले परिवारमा पैसा कसको खातामा पठाउने भन्ने संवेदनशील प्रश्नलाई पनि पुनः सतहमा ल्याएको छ ।
दास पक्राउ पछि जातीय संगठन राष्ट्रिय तत्मा समाज सक्रिय बनेको छ । अध्यक्ष रामबाबु दासको नेतृत्वमा पीडितका पक्षमा निरन्तर दबाब बनाउदै आएको समाजले दोषीलाई कठोर कारबाही गर्न माग गरेको छ । पूर्व अध्यक्ष राजकुमार दासले न्याय नपाए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए ्।
घटना स्थानीय राजनीतिको केन्द्रबिन्दु बनेको छ भने प्रहरी अनुसन्धानपछि दासको राजनीतिक भविष्यमाथि समेत प्रश्न उठेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन