तराई टप
काठमाडौं, ८ पुस । चीन संग नेपालको व्यापारिक नाकामा रहेको रसुवागढीबाट दैनिक रुपमा ९ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन् ।
दैनिक रुपमा आउने ९ वटा चिनियाँ गाडी रखुवागढी स्थित राखेर एउटा चिनियाँ गाडीले ल्याएका सामग्री दुई वटा नेपाली कन्टेनरमा राखेर गन्तव्य सम्म आउने गरेका हुन ।
नेपाल चीन सँगको व्यापारिक नाका रसुवागढीमा नियमित कारोबार शुरू भएको ७ वर्ष भइसक्यो । वैशाख २०७२ साल बैशाख १२ गतेको भूकम्पले नाकामा क्षतिग्रस्त भएका कारण आयात तथा निर्यात दुवै रोकिएको थियो र त्यसको ८ महीनापछि नाकाबाट पुनः कारोबार सुचारु भए ।
चीनबाट आउने सामग्रीहरु मा चिनियाँ भाषामा मात्र लेखिने भएकाले अङ्ग्रेजी भाषा पनि समावेश गर्नुपर्ने भन्दै रसुवा भन्सार कार्यालयले चिनियाँ खाद्य सामग्रीको आयातमा कडाइ गर्न थाल्यो । यता नेपाली पक्षले भाषाको समस्या देखाएर सामान आयातमा कडाइ गरेपछि उता चिनियाँ पक्षले पनि भाषाको कारण देखाउँदै २०७६ साउन देखि नेपाली सामग्रीको निर्यातमा रोक लगाएको हो । कोभिड–१९ का कारण दुई वर्षअघि रोक लगाएको चिनियाँ पक्षले अझै खोल्न सकेका छैनन् ।
आयातको तुलनामा निर्यात निकै कम हुने भए पनि चिनियाँ बजारमा नेपाली सामग्रीको माग बढ्दै गएको नेपाली व्यवसायी पुरुषोत्तम पौडेलले बताए । “निर्यात ठप्प भएपछि नेपाली व्यवसायी मर्कामा परेका छन्,” उनले भने । “हामीले लामो समय पहल गर्दा पनि समाधान भएको छैन ।”
चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका गुम्बाहरूमा नेपाली दाल र घ्यू तथा अन्य स्थानमा बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायत सामग्रीको माग उच्च रहेको छ । “नेपालमै उत्पादन भएका सामग्री भारतीय बाटो हुँदै गएको पाइयो,” उनले भने, “यहींबाट लैजान सकियो भने लागत घट्नुका साथै व्यवसायीलाई पनि फाइदा हुने थिए ।”
२०७६ साउन अघि सम्म दाल, घ्यू, चाउचाउ, बिस्कुट, चिउरा लगायत सामग्री निर्यात भइरहेको थियो । नेपाली खाद्य सामग्री लैजाँदा भन्सार तिर्नु नपर्दा व्यापारीलाई सहज थियो । रसुवा भन्सार कार्यालयको प्रमुख भन्सार अधिकृत राम मैनालीले केही दिनपछि दुई देशको सीमा सुरक्षाको बैठक बस्ने र सोही बैठकमा आयात तथा निर्यातबारे छलफल गरिने उनले बताए । “दुई देशका अधिकारी बीच केही दिनमा बैठक बस्ने तयारी भएको छ,” उनले भने, “उक्त बैठकमा आयात तथा निर्यातलाई सहज बनाउनका लागि प्रस्ताव गरिने बताए ।” अहिले दैनिक ९ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन् । एउटा चिनियाँ गाडीले ल्याएका सामग्री दुई वटा नेपाली कन्टेनरमा राखिन्छ । सोही अनुसार, दैनिक १८ वटा नेपाली कन्टेनरले सामग्री काठमाडौं लाने गरेका छन् । पहिले रसुवागढी नाका हुँदै करीब २५० सवारी साधनले आवतजावत गर्ने गरेको थियो ।