रौतहट, ३ पुस । नेपाली काँग्रेसको नेतृ एवं सामाजिक अभियन्ता अन्जु झाले नेपाली प्रशासकहरुद्वारा मधेशी जनताहरु माथि गरिएको भेदभावको कारणको असर सीमानाकामा सहजै हेर्न सकिन्छ ।
विगत चार दिन देखि परोहा नगरपालिकाको रामपुर खाप नाकामा छोटी भन्सार कार्यालयको पुनः स्थापना सहित चार पाँग्रे सवारीसाधन निर्वाध रुपमा आवतजावत गर्न पाउन भनेर स्थानीयहरु अनिश्चितकालिन आमरण अनसन भईरहदापनि राज्यको प्रशासकको मधेश प्रति हेर्ने दृष्टिकोर्णमा कुनै परिवर्तन आउन सकेका छैनन ।
सामाजिक अभियन्ताको रुपमा समेत प्रख्यात रहेकी झा सामाजिक संजाल फेसबेक मार्फत मधेशी जनता माथि भईरहेको विभेदको सन्दर्भमा यसरी लेखेकी छिन् ।
सामाजिक संजालमा नेतृ झाले लेखेकी छिन्, स–साना कुराबाट लाग्ने सामाजिक मुद्दाले कसरी राजनीतिक असन्तोष र विद्रोहलाई जन्म दिन्छन् र कायम राखिरहन्छन् भन्ने विषय विगत केही दिन देखि नेपाल र भारत जोडिने रौतहट जिल्लाको रामपुर खाप बोर्डरमा देखिदैछ ।
अहिले मधेसमा पहाडी मुलका प्रशासक र सुरक्षा प्रमुखहरूको विरूद्ध आवाज उठ्न थालेका छन् । कमाउनको लागि मधेश झर्ने प्रशासकले सिमाना अतिक्रमण, मानव बेचबिखन, लागुऔषध तस्करी, र हतियार ओसारपसार जस्ता सम्बेदनशिल विषयमा खासै केही गर्न नसक्ने तर मधेशीहरूको दैनिकी जिवनका लागि सीमावर्ती क्षेत्रका मानिसहरूलाई आवतजावत गर्न राज्यबाट क्षणक्षणमा प्रताडित गर्ने गरेको पाइन्छ ।
नेपाली राज्यमा पहाडी शासकहरूद्वारा खडा गरिएको भौतिक, सामाजिक, कानुनी, मनोवैज्ञानिक र राजनैतिक संरचनाहरूले मधेशी जनताको दैनिकी कार्यमा प्रतिकुल असर पारेर हिंसा गरिरहेको नै छ । रातभरी तस्करी हुने र तस्करी गर्नेलाई छुट दिने राज्यका प्रतिनीधीहरुले मधेशलाई आज पनि औपनिवेश भन्दा माथिको दर्जा दिन सकेको छैनन ।
नेपाल र भारतबीचको सदियौं देखि सिमाना खुला छ, मधेसी समुदायको भारतको उत्तरी प्रान्तहरूसँग वैवाहिक सम्बन्धहरू छन् । यसले दुई देशबीच सांस्कृतिक आदानप्रदान, आर्थिक निर्भरता, व्यापार र रोजगारीका, स्वास्थ उपचार, जन्मदा देखि मलामी सम्ममा भारत जाने–आउने गर्छन् जसलाई राज्यले सधैँ संवेदनशील मुद्दाको रूपमा राष्ट्रवाद संग जोडदै आएको छ ।
रामपुरखाप क्षेत्रबाट आवत जावत बन्द गरेर स्थानीयलाई आवतजावत, उपचार र विवाहका लागि समेत समस्या पार्दै आएको सुरक्षाकर्मीले बिरामी बोकेको एम्बुलेन्सलाई समेत जान रोक लगाएपछि स्थानीयहरु आक्रोशित छन् । शासकले मधेसप्रति गरेको जस्तो व्यवहार बेलैमा बुझ्न जरूरी छ नत्र मर्कामा पर्ने पालो त्यही समुदायको हुने उनले चेतावनी दिए ।