सञ्जय मिश्रा
रौतहट, १९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेले कुन्दन कुशवाहालाई उम्मेदवारका रूपमा एकल नाम सिफारिस गरेको छ ।
शनिबार गुजरा नगरपालिकामा आयोजित एमाले क्षेत्रीय कार्यकर्ता भेलाले पार्टी केन्द्रीय सदस्य समेत रहेका कुशवाहालाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।
क्षेत्रीय संयोजक युवराज ज्ञवालीका अनुसार भेलामा उपस्थित स्थानीय तहका पदाधिकारी, वडा प्रतिनिधि, क्षेत्रीय समिति सदस्य तथा कार्यकर्ताहरूले कुशवाहाको संगठन प्रतिको निरन्तर सक्रियता, जन समस्यामा देखाएको पहल, विकास अभियानमा प्रस्तुत नेतृत्व क्षमता र क्षेत्रप्रतिको जिम्मेवारीलाई उच्च मूल्याङ्कन गरेका छन् ।
क्षेत्रीय भेलामा कुशवाहाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम क्षेत्रीय संयोजक ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलामा प्रदेश सांसद तथा पूर्व मन्त्री केशव राय चौधरी, पूर्व मन्त्री नागेन्द्र यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह लगायत एमालेका नगर, क्षेत्र, जिल्ला तथा प्रदेशस्तरीय पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उम्मेदवार सिफारिसमा पर्नुभएका कुशवाहा तत्कालीन कटहरिया गाविसका अध्यक्ष जादोलाल महतोका जेठा छोरा हो । उनी २०७४ सालको निर्वाचनमा रौतहट–३ (ख) बाट तत्कालीन नेकपा माओवादी केन्द्रको टिकटमा प्रदेश सांसदमा निर्वाचित भएका थिए ।
२०७९ सालको निर्वाचनमा भने एमालेको टिकट छोडी प्रभु साह नेतृत्वको टिमबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका कुशवाहा नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार यादव (जितेन्द्र) सँग पराजित भएका थिए ।
चुनावमा आफूविरुद्ध अन्याय भएको आरोप लगाउँदै कुशवाहा गत वर्ष आम जनता पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरे । एमाले प्रवेशपछि पार्टी संगठन सुदृढीकरण तथा जनस्तरमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनी हाल प्रतिनिधिसभा निर्वाचनको प्रमुख दाबेदारका रूपमा अघि सारिएका छन् ।