“भाइब्रेन्ट गुजरात ग्लोबल समिट” मा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत भ्रमणमा जाने तयारी हुँदै

तराई टप
काठमाडौं ९ पुस । भारतको गुजरातमा हुन लागेको “भाइब्रेन्ट गुजरात ग्लोबल समिट” मा भाग लिन नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ चार दिने भ्रमणमा भारत जाने तयारी भईरहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा पुस २६ देखि २८ सम्म हुन लागेको “भाइब्रेन्ट गुजरात ग्लोबल समिट” मा भाग लिन प्रधानमन्त्री देउवा भारत तर्फ जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतको तर्फबाट देउवाको भ्रमणका लागि प्रस्ताव आएको र नेपाली पक्ष सकारात्मक देखिएको छ । प्रधानमन्त्री देउवाले पनि परराष्ट्र मन्त्रालयलाई भ्रमणको तयारी बारे गृहकार्य गर्न निर्देशन दिइसकेको बुझिएको छ ।
मन्त्रालयले पुस २५ देखि २७ गतेसम्मको मितिको तयारी गरेको छ, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, यो अन्य बेलाको जस्तो राजकीय भ्रमण होइन । स्रोतका अनुसार सम्मेलनमा प्रधानमन्त्री देउवाले कुनै एक सत्रमा आफ्नो विचार राख्ने गरी गृहकार्य भइरहेको छ । कार्यक्रमकै दौरान देउवाले भारतीय प्रधानमन्त्री मोदी सँग द्वीपक्षीय भेटवार्ता पनि गर्ने बताइएको छ ।
मोदी सँगको भेट गान्धीनगरमा हुने वा नयाँ दिल्लीमा हुने बारेमा गृहकार्य भइरहेको छ । ‘द्वीपक्षीय भेटवार्तामा दुई मुलुकबीच कुन विषयबारे छलफल गर्ने भन्ने सम्बन्धमा मन्त्रालयले गृह कार्य गरिरहेको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।