प्रभातकुमार झा
नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर मधेस प्रदेशमा राजनीतिक तापक्रम निकै बढेको छ ।
शीतलहरले जनजीवन प्रभावित भइरहेको अवस्थामा पनि कांग्रेसको विशेष महाधिवेशनले शीतलहरबाट कुनै प्रभाव परेको जस्तो लागेन । मधेश प्रदेशबाट आज देखि सुरु हुन लागेको विशेष महाधिवेशनमा सहभागीता जनाउन अधिकाँश कार्यकर्ता र प्रतिनिधिहरू हिजो नै संघिय राजधानी काठमाडौं प्रस्थान गरिसकेको हो । उक्त विशेष महाधिवेशनमा उपस्थिति जनाउनबाट रोक लगाउन संस्थापन पक्ष निकै जोडबल कसरत गरिरहेको बुझिएका छन् ।
प्रतिनिधिहरुलाई तीव्र रुपमा भाग नलिन दबाब, फोन वार्ता र रणनीतिक सक्रियता चलेको छ । मधेश प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवकै क्षेत्रबाट जिल्ला उपसभापति सहित १७ जना प्रतिनिधि काठमाडौं पुगिसकेका हुन् । जसमा रौतहट निर्वाचन क्षेत्र नम्वर १ क बाट प्रदेश सभा सदस्य नागेन्द्र साह समेत उक्त विशेष अधिवेशनमा सहभागी भएकोबाट पार्टीमा देखिएका गुट उपगुटहरु खुलेर उजागर भएको छ । महाधिवेशन पछि मधेश प्रदेशको राजनीतिमा समेत प्रतिकुल असर पर्न सकिने संकेत दिएको छ ।
मधेसमा प्रमुख गुटहरूको रस्साकस्सी
संस्थापन पक्ष (शेरबहादुर देउवा निकट) र शेखर कोइराला पक्ष ले प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा नजान खुलेर दबाब दिइरहेका छन् । फोन मार्फत आरजु राणा, भानु देउवा, शेखर कोइराला लगायतले आग्रह गर्दै महाधिवेशनमा नजान यदी गएमा आगामी निर्वाचनमा टिकट नदिने चेतावनी दिएको आरोप लागेका छन् ।
केन्द्रीय नेताहरू जस्तै विमलेन्द्र निधि र आनन्द ढुंगाना मधेस झरेर जिल्लास्तरमा भेटघाट र फोनबाट रोक्ने प्रयास गरिरहेका छन् ।
गगन थापा–विश्वप्रकाश शर्मा पक्ष ले भने प्रतिनिधिहरूलाई काठमाडौं लैजाने रणनीति अपनाएको छ । उनीहरूले बढीभन्दा बढी सहभागिता जुटाउने प्रयासमा छन् ।
जिल्लागत अवस्था (मधेसका ८ जिल्ला)
पर्सा र बाराः पूर्व सांसद सुरेन्द्र चौधरी, पूर्वमन्त्री फर्मुल्लाह मन्सुर लगायतका प्रभावशाली नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका छन् ।
सर्लाही र महोत्तरीः गगन–विश्वप्रकाश पक्ष बलियो देखिएको छ । सर्लाहीमा सिंह दाजुभाइको प्रभावले बहुमत सहभागी हुने अनुमान गरिएको छ । महोत्तरीमा निवर्तमान सांसद महिन्द्र रायसहित नेताहरू सक्रिय छन् ।
धनुषाः संस्थापन पक्षको सक्रियताले गगन पक्ष कमजोर छ । यहाँ करिब ३०% मात्र सहभागी हुने अनुमान ।
सिरहा र सप्तरीः उल्लेख्य संख्यामा प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा देखिएका छन् ।
रौतहटः रौतहट जिल्लाबाट पनि विशेष महाधिवेशनमा ५५ प्रतिशत भन्दा बढि सहभागीता हुने जनाइएको छ ।
दाबीहरूको तुलना
संस्थापन र शेखर पक्षले मधेसबाट ४०% हाराहारी मात्र सहभागी हुने दाबी गरेका छन् ।
गगन–विश्वप्रकाश पक्षले भने ५५% सम्म प्रतिनिधि काठमाडौं पुग्ने दाबी गरिएको श्रोतले बताए ।
यहाँ मधेस प्रदेशबाट विशेष महाधिवेशनको मागमा सुरुमा ठूलो हस्ताक्षर संकलन भएको थियो (धेरै प्रदेशमध्ये मधेसबाट उल्लेख्य), तर पछिल्लो समयमा संस्थापन पक्षद्वारा सृजना गरिएका दबाबले संख्या घट्दै गएको स्रोतहरूले बताए।
विवादले पार्टीभित्र गहिरो असन्तुष्टि र नेतृत्व परिवर्तनको मागलाई उजागर गरेको छ । विशेष महाधिवेशन पुस २७–२८ (जनवरी ११–१२) मा भृकुटीमण्डपमा हुँदैछ, जसले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अघि कांग्रेसको एकतालाई चुनौती दिएको छ । मधेसमा बढ्दो असन्तुष्टिले यो बहस थप चर्किएको देखिन्छ ।