नेपाल भारतको दशगज्जा क्षेत्रमा अतिक्रमण खाली गराउदै महोत्तरीको सशस्त्र प्रहरी सक्रिय

471 Shares

जलेश्वर, ११ पुस । महोत्तरी जिल्ला संग जोडिएको भारतीय सिमा क्षेत्रमा दशगज्जालाई मिचेर बनाइएको घर टहरा खडा गरिएको अतिक्रमित क्षेत्रलाई खाली गराउने अभियान नेपाल भारतको सुरक्षाकर्मीहरुले सुरु गरेको छ ।
दुबै देशको सिमालाई छुट्याउने दशगजा क्षेत्रमा अतिक्रमण गरी बसोबास गरिरहेका क्षेत्रलाई दुबै देशका सुरक्षाकर्मीहरुले सचेत गराउदै आफै शनिवार सम्म अतिक्रमण क्षेत्र खाली गराउन आग्रह गरेको भएपनि आज देखि सशस्त्र प्रहरीले नेपाल तर्फको र एसएसबीले भारत तिर अतिक्रमण बस्ती खाली गराउने कार्य सुरु गरेको हो ।
भारत बिहारको सीतामढी जिल्लाको सुरसण्ड थाना संग जोडिएको महोत्तरी जिल्लाको मनरा सिस्वा–९ बथनाहा, १० मधवा, ११ मरुवाही लगायतको क्षेत्र तथा मधुबनी जिल्ला संग जोडिएको मटिहानी लगायतका क्षेत्रका दशगजा क्षेत्र दिन दिनै अतिक्रमणको चपेटामा पर्दै गएको भन्दै सशस्त्र प्रहरी र एसएसवीले सो क्षेत्र खाली गराउने अभियान संचालनमा ल्याएको छ ।
सो क्रममा बथनाहाको महतो टोल देखि स्कुल चोक सम्म त्यो क्षेत्रमा बनाइएको गोठहरु तथा चौपायाहरुलाई शनिबार खाली गराइएको छ भने झुपडीहरु आइतबार सम्म खाली नगरे डोजर लगाएर भत्काउने चेतावनी दिइएको स्थानीयवासी कपिलदेव झाले बताए । दशगजा क्षेत्रलाई अतिक्रमण गरेर बथनाहा बजार नै सञ्चालन गरिंदै दर्जनौ झोपडी तथा सटरहरु सञ्चालनमा रहेको छ । सञ्चालनमा रहेका पसलहरु तत्काल आफैले खाली नगरे डोजर लगाएर खाली गराउने चेतावनी दिएको बथनाहा बजारमा चिया पसल सञ्चालन गर्दै आएको छ ।
सीमावर्ती भारतसँग जोडिएको कटैया, बथनाहा, मधवा, मरुवाही, नैनही, भिठ्ठामोड, मटिहानी सम्मको करिब १५ किलोमिटर सम्मको दशगजा क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । दशगजा अतिक्रमण गरी कतिपयले खेतीपाती समेत गरिरहेका छन् भने नेपालतर्फका नागरिकले दशगजामै पराल थुपार्ने, गुइठा बनाउने, पशु चौपाया बाध्ने जस्ता कार्यका कारण दुई देशलाई छुट्याउने दशगजा (नोमेन्स ल्याण्ड) अतिक्रमणको चपेटामा परेको देखिएको छ । भारतीय नागरिकहरुले घर टहरा नै निर्माण गरी वसोवास गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशगजा क्षेत्र एक सय मिटर दांया र बायां कुनै भौतिक पूर्वाधारको निर्माण वा अन्य कार्य गर्न निषेधित भएतापनि सम्बन्धित निकायको उदासीनताको कारण ठाउं ठाउंमा बजार नै लाग्ने गरेको छ भने कतिपय स्थानमा पक्की घर नै निर्माण गरी दशगजा नै नदेखिने गरि अतिक्रमित भएको अवस्था छ ।
सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका विओपीहरू भएपनि अवाञ्छित गतिविधि माथि निगरानी राख्ने, अवैध मालसामानको ओसारपसार नियन्त्रण गर्ने तथा दुबै देशको अपराधिक कार्य गरेर सजिलै सीमा वारीपारी गर्नेहरूमाथि अंकुश लगाउने तर्फ प्रतिबद्ध रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नम्वर गणको गणपति सुरेश सापकोटाले बताए ।
सिमा क्षेत्रमा दैनिक रुपमा गरिने निगरानी एवं अनुगमनको कार्यमा बाधा व्यवधान उत्पन्न भईरहदा दशगज्जामा गाईगोरु, गुइठो र सामान्य घरटहराको कारण त्यसलाई सिमापारीको एसएसबीको समन्वय गरी दुवै तर्फ सर सफाई अभियान मात्रै चलाएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार