रौतहट, ६ माघ । फागनु २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्वर १ बाट प्रमुख दलहरुका उम्मेदवारहरुद्वारा मनोनयन पत्र दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नम्वर १ को मुख्य निर्वाधन अधिकृतको कार्यालय गौरले दिएका सूचना अनुसार, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवकुमार नेपाल, नेकपा एमालेका अजयकुमार गुप्ता, नेपाली काँग्रेसका अनिलकुमार झा, रास्वपाका राजेश चौधरीले मनोनयन पत्र दर्ता गराएका हुन् ।
मनोनयन पत्र दर्ता गराएर बाहिरिदै गर्दा पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपाल संग संचारकर्मीहरुले राखेको जिज्ञासालाई सम्बोधन गर्दै लोकतन्त्रको रक्षार्थ, संघियतालाई बलियो बनाउन, गणतन्त्रलाई संस्थागत गर्दै नेपाली नागरिकलाई सुखी एवं समृद्ध बनाउन कार्यहरु अझै बाँकीरहेको हुँदा त्यसलाई पुरा गर्न गराउन आफूले मनोनयन पत्र दर्ता गराएको दाबी गरे ।
यसैगरी आम जनता पार्टीका त्रिभुवन साह, जसपालोसपा गठबन्धनबाट योगेन्द्र यादव, जनमतका देवेन्द्र मिश्र, राप्रपाका श्रीराम साह सहितका उम्मेदवारहरुद्वारा मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले बताए ।
निर्वाचन क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसका डा. फिर्दोष आलम, नेपाली कम्युनिष्ट पार्टीका किरण साह, एमालेका महम्मद अतिउल्लाह, रास्वपाका शेख सगिर, जसपाका रामअशिष राय यादव, प्रगतिशिल लोकतान्त्रिक पार्टीका सुरेन्द्र प्रसाद जयसवाल, आजपा श्रीभगवान राउत सहित १३ जनाको मनोनयन पत्र दर्ता भएको जनाइएको छ ।
निर्वाचन क्षेत्र नम्वर ३ मा नेपाली काँग्रेसबाट रामकृपाल यादव, नेपाली कम्युनिष्ट पार्टीबाट पुनम यादव र, नेकपा एमालेबाट कुन्दन कुशवाहा, आम जनता पार्टीबाट प्रभु साहले मनोनयन पत्र दर्ता गराएको छ ।
निर्वाचत क्षेत्र नम्वर ४ बाट नेपाली काँग्रेसका देवप्रसाद तिमलसिना, नेकपा एमालेका रामजी साह, नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भटराई, रास्वपाका गणेश पौडेल, आजपाका ऋषि धमला, जसपाका राजकुमार दास सहितका उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराए ।