रौतहट, १२ माघ । राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस–एमाले–जसपा गठबन्धनको वर्चस्वको परचम लहराएका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेश प्रदेशबाट नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका चारै जना उम्मेदवार निर्वाचित भएका हुन् ।
जनकपुरधाममा आइतबार सम्पन्न निर्वाचनमा कांग्रेस–एमाले–जसपा गठबन्धनले सबै क्लस्टरमा जित हात पार्दै मधेशमा आफ्नो वर्चस्वको परचम लहराए ।
अन्य समूहबाट जसपा नेपालका संरक्षक महन्थ ठाकुर, अल्पसंख्यक समूहबाट नेपाली कांग्रेसका रञ्जित कर्ण, महिला क्लस्टरबाट नेकपा एमालेकी नेतृ रेखा झा तथा दलित समूहबाट धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबीच एकीकरण पछि ठाकुर जसपा नेपालका तर्फबाट उम्मेदवार बनेका थिए ।
निर्वाचन कार्यालय मधेश प्रदेशका अनुसार गठबन्धनको कुल मतभार ८ हजार १८६ रहे पनि कुनै पनि उम्मेदवारले उक्त अनुपात अनुसार पूर्ण मत प्राप्त गर्न सकेनन् । गठबन्धनकै केही मतदाताले मत नखसालेको देखिए पनि सबै भन्दा बढी मतभार महन्थ ठाकुरले प्राप्त गरे । उनले ७ हजार ७२५ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लक्ष्मण पौडेलले १ हजार ८०५ मत पाए ।
महिला क्लस्टरतर्फ एमालेकी रेखा झाले ७ हजार २२२ मत प्राप्त गर्दै विजयी भइन् भने नेकपाकी शमीकुमारी अग्रवालले १ हजार ९४४ मत पाइन् । अल्पसंख्यक समूहबाट कांग्रेसका रञ्जित कर्णले ८ हजार ९३ मत प्राप्त गर्दा नेकपाका रामनन्दन प्रसादले १ हजार ३६१ मतमा सीमित भए ।
यस्तै दलित क्लस्टरतर्फ काँग्रेसका धर्मेन्द्र पासवानले ७ हजार ९०४ मत सहित विजय हासिल गरे भने उनका प्रतिद्वन्द्वी नेकपाका रामानन्द प्रसादले १ हजार ३७६ मत पाए ।
आइतबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक प्रतिष्ठानमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान सम्पन्न भएको थियो । कुल ३६४ मतदातामध्ये ३४१ जनाले मतदान गरेका थिए । प्रदेश सभा सदस्यतर्फ १०० मध्ये ९९ जनाले मतदान गर्दा नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी अनुपस्थित रहिन् ।
मधेश प्रदेशमा १०७ प्रदेश सभा सदस्य र २७२ स्थानीय तहका जनप्रतिनिधि कायम रहेकामा कारबाहीका कारण हाल प्रदेश सभातर्फ १०४ र स्थानीय तहतर्फ २६७ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभातर्फ ३ जना र स्थानीय तहतर्फ ५ जना जनप्रतिनिधि निलम्बनमा परेका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता हुने व्यवस्था अनुसार प्रदेश सभातर्फ ५ हजार ५१२ र स्थानीय तहतर्फ ५ हजार ७३ मतभार निर्धारण गरिएको थियो । निर्वाचन कार्यालयका अनुसार गठबन्धनले प्रदेश सभाबाट ३ हजार ८१६ र स्थानीय तहबाट ४ हजार ३७० मतभार प्राप्त गरेको छ ।
यसैबीच, स्थानीय तहका २६४ जनामध्ये २४२ जनाले मात्र मतदान गर्दा २२ जना जनप्रतिनिधि अनुपस्थित रहेका थिए । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह सहित विभिन्न नगरपालिका तथा गाउँपालिकाका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष मतदानमा सहभागी भएनन् ।