रौतहट, १२ माघ । रौतहटका मतदाता नयाँ विकल्प खोज्दै छन् तर चारै क्षेत्रमा उही ‘पुरानै अनुहार’ को वर्चस्व रहेको देखिन्छ ।
लोकतन्त्र स्थापना भएयता पटक–पटक एउटै अनुहारलाई प्रतिनिधि सभा निर्वाचनमा देख्दै आएका रौतहटका मतदाता यसपटक भने स्पष्ट रूपमा परिवर्तनको चाहना व्यक्त गरिरहेका छन् ।
तर विडम्बना, परिवर्तनको अपेक्षा राखेका मतदातालाई चारै निर्वाचन क्षेत्रमा अधिकांशतः पुरानै अनुहार मध्ये एक रोज्नुपर्ने बाध्यता देखिएका हुन् ।
पुरानै पार्टी, पुरानै एजेन्डा र कहिले पार्टी फेरेर त कहिले उही दलबाट उम्मेदवार बनी घरदैलोमा पुग्ने प्रवृत्तिले मतदाता असन्तुष्ट छन् । यही असन्तुष्टिका कारण रौतहटमा नयाँ अनुहारको खोजी तीव्र बनेको छ ।
क्षेत्र नम्बर १ माः नयाँ चाहना, तर विकल्प पुरानै
रौतहट–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवार छन् । उनका प्रतिद्वन्द्वीहरू पनि परिचित अनुहार नै हुन्—नेकपा एमालेका अजयकुमार गुप्ता, नेपाली काँग्रेसबाट उम्मेदवार बनेका अनिल कुमार झा, जसपा नेपालका योगेन्द्र यादव र रास्वपाका राजेश चौधरी हुन् ।
कतिपय उम्मेदवार पुरानै पार्टीमा रहे पनि कतिपयले पार्टी परिवर्तन गरेर उम्मेदवारी दिएका छन् । नयाँ अनुहारको चाहना हुँदाहुँदै मतदातालाई पुरानै उम्मेदवार मध्ये कुनै एकलाई रोज्नुपर्ने अवस्था बनेको छ ।
क्षेत्र नम्बर २ माः वंश परम्परा र दल फेरबदलको राजनीति
रौतहट–२ मा नेपाली काँग्रेसका डा. फिर्दोष आलम दिवंगत नेता मोहम्मद आफताब आलमका छोरा हुन् । उनी बुवाको राजनीतिक विरासत सम्हाल्दै मैदानमा छन् । गत निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार किरण साहसँग पराजित भएका थिए ।
गत निर्वाचनमा स्वतन्त्र निर्वाचित किरण साह एमाले प्रवेश गरे पनि पार्टीले शैलेन्द्र साहलाई उम्मेदवार बनाएपछि उनले पुनः नेपाली कम्युनिस्ट पार्टी रोजेका छन् । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा आलम र साह बीच नै सीमित हुने अनुमान गरिएको छ ।
क्षेत्र नम्बर ३ माः प्रभु साह केन्द्रमा
रौतहट–३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साह पाँचौँ पटक उम्मेदवार बनेका छन् । तत्कालिन माओवादी शान्ति सम्झौता पश्चात मनोनित भएका साँसद देखि लिएर २०६४ सालदेखि निरन्तर चार पटक निर्वाचन जितेका साहविरुद्ध यसपटक पनि प्रायः उम्मेदवारले आफ्नो मुख्य प्रतिस्पर्धा उनै सँग रहेको दाबी गरिरहेका छन् ।
जसपा नेपालबाट पूर्वमन्त्री गोविन्द चौधरी, नेपाली काँग्रेसबाट राम कृपाल यादव, नेकपाबाट पुनम यादव, रास्वपाबाट रविन्द्र पटेल ‘धिरज’ तथा एमालेबाट कुन्दन कुशवाहा मैदानमा छन् । अघिल्ला निर्वाचनमा सबै प्रमुख दल एकजुट हुँदा पनि साह सहजै विजयी भएका थिए ।
क्षेत्र नम्बर ४ माः नयाँ अनुहारले बनायो रोचक प्रतिस्पर्धा
रौतहट–४ मा मतदाताले खोजेको परिवर्तन केही हदसम्म देखिन थालेको छ । आम जनता पार्टीबाट ऋषि धमला, रास्वपाबाट गणेश पौडेल, एमालेबाट रामजी साह सोनार र जसपा नेपालबाट राजकुमार दास तत्मा बिल्कुलै नयाँ उम्मेदवार हुन् ।
दुई पटक निर्वाचित भइसकेका नेपाली काँग्रेसका देव तिमल्सिना ह्याट्रिकको प्रयासमा छन् भने नेकपाबाट रामकुमार भट्टराई प्रतिस्पर्धामा छन् । नयाँ र पुराना दुवै अनुहारको मिश्रणले यस क्षेत्रको चुनावी प्रतिस्पर्धा सबैभन्दा रोचक हुने अनुमान गरिएको छ । त्यसमा पनि धमलाको चुनावी प्रचारले निकै रोचक बनाएको छ । उनको मतदात संग भोट माग्ने शैलीले निकै चर्चा पाएका छन् ।
स्मरणीय छ की, रौतहटमा मतदाताको आवाज स्पष्ट छ—परिवर्तन चाहिन्छ । तर अधिकांश क्षेत्रमा विकल्प पुरानै अनुहारमा सीमित हुँदा मतदाता दुविधामा छन् । यस्तो अवस्थामा परिवर्तनको हुंकारले कति मतमा रूपान्तरण पाउँछ भन्ने प्रश्नले यसपटकको निर्वाचनलाई थप चासोको विषय बनेको छ ।