रौतहट, १७ माघ । रौतहट निर्वाचन क्षेत्र नम्बर १ को सरुअठा चोकमा राष्ट्र निर्माण दलको चुनावी सम्पर्क कार्यालय स्थापना भएको छ ।
यमुनामाई गाउँपालिकाको सरुअठा चोकमा चुनावी सम्पर्क कार्यालयको उदघाटन गर्दै राष्ट्र निर्माण दलका अध्यक्ष अन्सारीले ‘कुर्सीका लागि होइन, राष्ट्र निर्माणका लागि राजनीति’—शिक्षा, रोजगारी र विचारको बलमा अगाडि बढ्ने दलको विचारधारा रहेको स्पष्ट पारे ।
मुलुकमा विद्यमान गहिरा समस्याहरू समाधानको नाममा वर्षौंदेखि सत्ता र कुर्सीमै सीमित भएको राजनीतिलाई अस्वीकार गर्दै राष्ट्र निर्माणलाई केन्द्रमा राखेर नयाँ राजनीतिक अभ्यासलाई अघि बढाइएको दाबी उनले गरे ।
विगत लामो समयदेखि धेरै दलहरू जनताका समस्या एजेन्डा बनाउँदै सत्ता उपभोग मात्र गरेको अनुभव सुनाउदै आफूहरू जनताको वास्तविक उद्देश्य बोकेर पार्टी निर्माणमा जुटेको बताए ।
“हामी कुर्सीमा बस्न होइन, राष्ट्र निर्माण गर्न राजनीतिमा आएका हौँ,” अध्यक्ष अन्सारीले स्पष्ट पारे । उनका अनुसार राष्ट्र बलियो भए मात्रै जनता सुखी र समृद्ध हुन सक्छन् । यही सोचका आधारमा पार्टीले शिक्षा र रोजगारीलाई प्रमुख एजेन्डा बनाएको छ ।
सरकारी शिक्षाको नाजुक अवस्था
नेतृत्वले सरकारी विद्यालयको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै अन्सारीले भने, निजी बोर्डिङ र कलेजको पहुँच सबैको लागि सम्भव नभएको यथार्थलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बेला आएको छ ।
“सबै अभिभावकहरु महँगो शिक्षा धान्न सक्दैनन् । त्यसैले सरकारी विद्यालयलाई सुविधा सम्पन्न बनाइ बालबालिकालाई शिक्षा विहीन हुन नदिने हाम्रो मुख्य लक्ष्य हो,” उनको कथन छ ।
युवाको पलायनलाई रोक्दै देशमै रोजगारीको सृजना
देशको अर्को गम्भीर समस्या युवाहरु तीव्र रुपमा विदेश पलायन भएको उल्लेख गर्दै उनीहरूले दिनहुँ हजारौं युवा रोजगारीको खोजीमा विदेशिन बाध्य भइरहेको बताए ।
“यही गति रह्यो भने केही वर्षमै देश युवाविहीन बन्ने खतरा छ,” भन्दै देशमै रोजगारी सिर्जना, सीप र ज्ञानशक्ति प्रयोग गर्ने स्पष्ट खाका तयार पारेर युवाहरुलाई विदेश पलायन हुनुबाट जोगाउनु हो ।
पैसा होइन, विचार प्रधान
पार्टी सञ्चालन र निर्वाचन खर्चका विषयमा बोल्दै नेतृत्वले पैसाको बलमा होइन, विचार र भिजनको बलमा चुनाव जित्ने धारणा अघि सारे ।
“चुनावमा पैसा पोखेर मात्रै जितिँदैन, हाम्रो एजेन्डा स्पष्ट छ, भिजन स्पष्ट छ, यही आधारमा उम्मेदवार अघि बढाएका छौं,” तराई टप संग कुरा गर्दै उनले बताए ।
पार्टी सञ्चालनका लागि केन्द्र कमिटीका सदस्य र समर्थकहरूको सहयोगमा पार्टी चलिरहेको र विभिन्न दातालाई सहयोगका लागि आह्वान गरिएको पनि स्पष्ट पारियो ।
सीमित तर छनोट भएका उम्मेदवार
आगामी निर्वाचनमा पार्टीले संख्या भन्दा गुणस्तरमा जोड दिँदै सीमित तर सक्षम उम्मेदवार मैदानमा उतारेको जनाए ।
“हाम्रा उम्मेदवारहरू चयनित छन्, सरकारसँग प्रश्न गर्न सक्ने क्षमता भएका व्यक्तिहरु छन्,” अध्यक्ष अन्सारीले भने ।
यस किसिमको वैचारिक घोषणालाई पुरानो राजनीतिक अभ्यासप्रति असन्तुष्टि र वैकल्पिक राजनीति प्रति खोजको संकेतका रूपमा हेरिएको छ ।
उक्त कार्यक्रममा रौतहट निर्वाचन क्षेत्र नम्वर १ मा राष्ट्र निर्माण दलबाट आधिकारीक रुपमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकी प्रभा सिंह कुँवरको उपस्थितिमा सम्पर्क कार्यालय उदघाटन कार्यक्रम सम्पन्न भएका थिए । सो कार्यक्रममा उल्लेख्य संख्यामा पार्टीका केन्द्रीय सदस्य देखि लिएर जिल्ला, वडा नगर स्तरिय नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।