रौतहट, १९ माघ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशमा कडा सुरक्षा सतर्कता अपनाइएको छ ।
प्रदेशभरीमा कायम २,१६० मतदान स्थलमध्ये १,२३७ मतदान स्थल अति संवेदनशील सूचीमा राखिएको मधेश प्रदेश प्रहरी कार्यालय श्रोतबाट बुझिएको हो ।
प्रदेश प्रहरी कार्यालय श्रोतका अनुसार भारत संग जोडएका सीमाका अधिकांश मतदान स्थल उच्च जोखिममा रहेकोमा ती क्षेत्रलाई ‘रेड जोन’ का रूपमा वर्गीकरण गरी विशेष सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन तीन तहको सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले लक्ष्य लिई सोही अनुरुप सुरक्षा रणनीतिलाई कार्यान्वयन गराउने पक्षमा रहेको बुझिएको छ ।
डिआइजी थपलियाका अनुसार अति संवेदनशील मतदान स्थलमा ड्रोन, सीसी क्यामेरा तथा सादा पोशाकका प्रहरी मार्फत निरन्तर निगरानी भइरहेको छ । मतदाताको चाप, विगतका घटनाक्रम, सामाजिक–सांस्कृतिक परिवेश, भौगोलिक अवस्था र राजनीतिक गतिविधिलाई आधार मानेर मतदान स्थलको वर्गीकरण गरिएको उनले बताए ।
खुला सीमाका कारण हतियार ओसारपसार, घुसपैठ तथा अपराधपछि सीमा पार गर्ने सम्भावना रहेको उल्लेख गर्दै डीआईजी थपलियाले ती सबै चुनौतीलाई मध्यनजर गरी सुरक्षा योजना तयार गरिएको स्पष्ट पारे । “अति संवेदनशील मतदानस्थलमा निगरानी बढाइसकिएको छ, सूचना संकलनका लागि सादा पोशाकका प्रहरी परिचालन भइसकेका छन्,” उनले भने ।
प्रदेशका आठ जिल्लामा रहेका मतदान स्थलमध्ये सप्तरी जिल्ला सबैभन्दा बढी जोखिम युक्त देखिएको छ । सप्तरीका २९६ मतदान स्थलमध्ये २०९ वटा अति संवेदनशील सूचीमा परेका छन् । त्यसपछि धनुषा (१९४), महोत्तरी (१६३), सर्लाही (१५८), सिरहा (१५४), बारा (१५४) र रौतहट (१५२) मतदानस्थल अति संवेदनशीलमा वर्गीकृत छन् ।
सुरक्षा व्यवस्थापनका लागि मधेश प्रदेशभर ५० हजार भन्दा बढी संयुक्त सुरक्षा फौज परिचालन गरिने जनाइएको छ । नेपाल प्रहरी र म्यादी प्रहरी गरी करिब ४० हजार, सशस्त्र प्रहरी बलबाट १० हजार र आवश्यकता अनुसार नेपाली सेनालाई समेत परिचालन गरिनेछ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनीका डीआईजी कृष्ण ढकालका अनुसार निर्वाचनलाई लक्षित गरी प्रदेशका आठै जिल्लामा ४,३३६ सशस्त्र प्रहरी र २,८३२ निर्वाचन प्रहरी तयारी अवस्थामा राखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मोबाइल टोली तथा रिजर्भ फोर्स मार्फत सुरक्षा परिचालन भइसकेको उनले बताए ।
प्रदेश प्रहरी कार्यालयले निष्पक्ष, धाँधलीरहित र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ ।