अभिमन्यु पटेल
रौतहट, २६ माघ । फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रौतहट क्षेत्र नम्बर ३ को चुनावी माहौल तातिदै गएको छ ।
विकासको नाममा वर्षौदेखि जनतालाई भ्रममा राख्दै आएको राजनीतिलाई चुनौती दिँदै नेपाली कम्युनिस्ट पार्टी (तारा छाप) की उम्मेदवार पुनम यादव प्रत्यक्ष चुनावी मैदानमा उत्रिएपछि चुनावी माहौल तातिदै गएको हो ।
निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी यादवले आइतबार देखि घरदैलो तथा प्रत्यक्ष जनसम्पर्क अभियान सुरु गरिन । कटहरिया नगरपालिकाको भसेढवा लगायत विभिन्न टोल–बस्तीमा पुगेर उनले वृद्धवृद्धा, महिला, युवा र सर्वसाधारण सँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, पीडा र गुनासो सुनेकी छन् ।
जिल्लाकै राजनीतिक इतिहासमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिने पहिलो महिला उम्मेदवार का रूपमा यादवको प्रवेशलाई स्थानीय मतदाताले परिवर्तनको संकेतका रूपमा लिएका छन् । उनीहरूका अनुसार विगतमा उम्मेदवारहरूले प्रलोभन देखाएर मत मागे पनि चुनाव जितेपछि विकासको नाममा जनतालाई धोका दिने क्रम दोहोरिदै आएको छ ।
स्थानीय मतदाताको गुनासो छ— क्षेत्र नम्बर ३ मा विकास केही गाउँ र सीमित स्थानमा मात्र केन्द्रित रहयो । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, खानेपानी र सामाजिक जनचेतनाको अवस्था अत्यन्तै कमजोर बनेको छ । विकासको नारा बेचेर जनतालाई अन्धकारमा राख्ने राजनीतिक प्रवृत्तिकै कारण यो क्षेत्र लामो समय देखि पछि धकेलिएको उनीहरूको आरोप छ ।
विकासका नाममा भएका अनियमितता, विभेद र राजनीतिक एकाधिकार बारे खुलेर बोल्ने साहस नहुँदा क्षेत्र नम्बर ३ एक व्यक्तिको राजनीतिक ‘बन्धक’ जस्तै बनेको टिप्पणी पनि स्थानीयहरूले गरे ।
तर यादवको उम्मेदवारी सँगै यहाँका जनतामा नयाँ आशा पलाएको छ । उनीहरू भन्छन— यो चुनाव केवल अनुहार परिवर्तनका लागि होइन, विकासको नारा बेच्ने प्रवृत्तिलाई परास्त गर्ने ऐतिहासिक अवसर बन्नुपर्छ । अब रौतहट–३ का मतदाताले वास्तविक नेतृत्व र समावेशी विकासको खोजीमा निर्णायक मत दिने संकेत देखिन थालेको छ ।